छ कठ्ठा जग्गामा सागसब्जी खेती, वार्षिक तीन लाख आम्दानी

छ कठ्ठा जग्गामा सागसब्जी खेती, वार्षिक तीन लाख आम्दानी

केन्द्रबिन्दु
15
Shares

अत्तरिया (कैलाली) । कैलालीका किसानलाई सागसब्जी खेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ । यहाँका किसान व्यावसायिक रूपमा सागसब्जी खेती गर्दै आएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरका जगतराम चौधरीले सागसब्जी बेचेर परिवारको भरणपोषण गर्दै आएका छन् । विगत १५ वर्षदेखि व्यावसायिक रुपमा सागसब्जीखेती गर्दै आएको बताउँदै उनले यसबाट आकर्षक आम्दानी पनि हुने गरेको जानकारी दिए ।

उनले भने, “छ कट्ठामा सागसब्जी लगाएको छु । वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ । आठ जनाको परिवार छ । बालबच्चाको पढाइ, घर खर्च सागसब्जी बेचेर चलाउने गरेको छु ।” उनले जैविक मल मात्र प्रयोग गरेर खेती गर्दै आएको बताए ।

सागसब्जीखेती बिक्रीमा समस्या नहुने बताउँदै उनले नजिकैको अत्तरिया बजारमा लगेर सागसब्जी बिक्री गर्ने गरेको जानकारी दिए । सागसब्जीखेतीबाट मनग्गे आम्दानी हुने उनले बताए ।

सोही स्थानका धनलाल चौधरीले चार कट्ठा जग्गामा लामो समयदेखि व्यावसायिक सागसब्जीखेती गर्दै आएको बताए । उनले भने, “आम्दानी प्रशस्त हुन्छ । सागसब्जीखेतीबाट वार्षिक रु दुई लाख बढी आम्दानी हुन्छ । गाह्रोसारो पर्दा ऋण लिनुपर्दैन ।”

Logo