काठमाडौँ
विगत तीन वर्ष देखि बन्द अवस्थामा रहेको नयाँ बानेश्वरको पाँचचारे होटल एभरेस्ट पुनः सञ्चालनमा आउने भएको छ । सो होटलको लगानीका विषयमा भएको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका कारण २०७२ सालको वैशाखमा गएको विनासकारी भूकम्पपछि होटल पूर्ण रूपमा बन्द भएको थियो ।
१२ वैशाख २०७२ मा गएको भूकम्पबाट सो होटलमा सामान्य रूपमा क्षति पुगेको थियो । भूकम्पपछि पनि त्यहाँ भीआईपी पाहुनाहरू बसेका थिए । तर पुनः २९ वैशाखमा दोस्रोपटक सिन्धुपाल्चोक केन्द्र बनाएर गएको भूकम्पको पराकम्पपछि एभरेस्ट होटलमा बस्दै आएका पाहुनालाई अन्य ठाउँमा सारेर अब बस्न नमिल्ने भन्दै रातो स्टिकर टाँसिएको थियो ।
त्यसअघि निकै धेरै पाहुनालाई राखेर सेवा दिँदै आएको एभरेस्ट होटल एक्कासी बन्द भएपछि सो होटलमा कार्यरत सयौं कामदारहरूले आफ्नो रोजगारी गुमेको भन्दै आन्दोलन गरेका थिए । आन्तरिक सेयर विवादका कारण बन्द गर्ने मनस्थितिमा पुगेका होटल सञ्चालकले नै भूकम्पपछि आएको अनुगमन टोलीलाई रातो स्टिकर टाँस्न लगाएको आरोप ती कामदारले लगाएको थिए ।
रातो स्टिकर टाँसिएको करिब तीन वर्षपछि बल्ल पुनर्निर्माण कार्य सुरु गरिएको छ । अहिले धमाधम होटल रिनोभेसन गर्ने र रंगरोगन गर्ने काम जारी रहेको छ । आगामी ६ महिनामा पुनर्निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य सो होटलले लिएको छ । एभरेस्ट होटल व्यवस्थापनले अहिले आरएस निर्माण सेवालाई पुनर्निर्माणका लागि ठेक्का
दिएको छ ।
तोकिएको समयमा नै निर्माण सम्पन्न भए आगामी नयाँ वर्ष २०७६ साल देखि बन्द अवस्थामा रहेको एभरेस्ट होटल पुनः सञ्चालनमा आउनेछ । त्यसबेला एभरेस्ट होटल बन्द हुनुको भित्री कारण भूकम्प मात्र थिएन । भूकम्प अघि नै भएको सेयर हिस्सा विवादका कारण होटल सञ्चालक बन्द गर्ने मनस्थितिमा पुगिसकेका थिए । त्यतिबेला भूकम्पका कारण रातो स्टिकर टाँसिएपछि होटल बन्द गर्न सञ्चालकलाई सहज रूपमै बाटो खुला भएको थियो । काठमाडौं जिल्ला अदालतबाट सुरु भएको होटलको सेयर विवाद मुद्दा पुनरावेदन हुँदै सर्वोच्च सम्म पुगेर टुंगिएको थियो ।
राजधानीबाट
प्रतिक्रिया