काठमाडौं महानगरले २०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने

काठमाडौं महानगरले २०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रम बजारमा रहेको सिपयुक्त जनशक्तिको माग र आपूर्तिको खाडललाई कम गर्ने उद्देश्यले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने भएको छ।

महानगरका मेयर बालेन शाहले बिहीबार श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जानलमार्फत आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत यो मेला आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।

महानगरले यस मेलामा २०८२ जनालाई रोजगारीमूलक तालिम तथा रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूको सिप स्तरोन्नति गर्ने र बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य मेलाको रहेको छ।

‘आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आएको महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत १५ हजार युवालाई सिपमूलक तालिम दिई कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगारमा संलग्न गराउने लक्ष्य राखिएको छ।’ विज्ञप्तिमा भनिएकाे छ ।

गत वर्ष २०८१ सालको श्रमिक दिवसको अवसरमा पहिलो पटक आयोजना गरिएको सिप मेलामा ६८ हजार ८६६ जनाले तालिम लिन आवेदन दिएका थिए। जसमध्ये २ हजार ५७५ जनालाई विभिन्न विधामा तालिम प्रदान गरिएको थियो र ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरेका थिए भने धेरै जना स्वरोजगारमा संलग्न भएका थिए।

यस वर्षको सिप मेलामा गत वर्ष फारम भरेर तालिम लिन नपाएका व्यक्ति, काठमाडौं महानगरपालिकामा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिक, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका वासिन्दा, फरक क्षमता भएका व्यक्ति, सडक व्यापार वा ठेलागाडामा व्यापार गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। यद्यपि, तालिममा सबै नेपाली नागरिकले सहभागिता जनाउन सक्ने छन्।

महानगरले ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोड्ने लक्ष्यसहित तालिम सञ्चालन गरिने जनाएको छ। १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका व्यक्तिहरूले यो ३० दिने मेलामा सहभागी हुन सक्नेछन्, जहाँ दैनिक ६० वटा कक्षा सञ्चालन हुनेछन्।

तालिम सम्पन्न भएपछि दुई दिने ‘पोस्ट मेला’ आयोजना गरिनेछ, जसमा दीक्षान्त समारोह, प्रमाणपत्र वितरण तथा तालिम प्राप्त व्यक्तिहरूलाई उद्योगहरूसँग जोड्ने विभिन्न कार्यक्रमहरू समावेश हुनेछन्।

Skip This
Skip This
Logo