बैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

बैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सरकारले बैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने बताएका हुन् ।  

यस्तै, पौडेलले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने बताएका छन् । सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैङ्क स्थापना गरिने नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।  

सार्वजनिक संस्थानहरूको विद्यमान अवस्थाको अध्ययनका आधारमा व्यवस्थापन गरी पुनर्संरचना, निजी क्षेत्रलाई हस्तान्तरण तथा सम्पत्तिको उपयुक्त विधिबाट मौद्रीकीकरण गरिने भइएको छ ।  साथै, एकीकृत सामाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमहरूबिच समन्वय गरिने पौडेलले बताएका छन् ।  

यस्तै, नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गरिने विषयमा पनि समावेश गरिएको छ । बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाई भौतिक सम्पत्ति बिमा प्रवर्धन गर्दै बिमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइने भएको पनि पौडेलले जानकारी दिए ।  

आगामी आर्थिक वर्षबाट ग्रामीण तथा निम्न आय वर्गलाई बिमामा समेट्न बिमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।

Logo