काठमाडौं । काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ को आयोजनाका लागि साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौता काठमाडौंको टुंडिखेलमा आयोजित एक विशेष समारोहमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको यो सिप मेला नेपालकै सबैभन्दा ठूलो सिप विकास कार्यक्रम हो। यसले व्यवहारिक र रोजगारीमुखी तालिममार्फत सहभागीहरूको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
सम्झौतामा काठमाडौं महानगरपालिकातर्फबाट सिप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका अध्यक्ष रामजी प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। एनसेल फाउन्डेसनको तर्फबाट डाइरेक्टर विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले हस्ताक्षर गरेका छन्।
“सिप अभिवृद्धि रोजगारीको अवसर विस्तार र दिगो जीविकोपार्जनको आधार हो भन्ने हाम्रो विश्वास छ। काठमाडौं महानगरपालिकासँगको यो सहकार्यले युवाहरूलाई प्रतिस्पर्धी बजारमा सफल हुन आवश्यक व्यवहारिक सिप प्रदान गर्नेछ,” एनसेल फाउन्डेसनकी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्।

यो सहकार्यले युवाहरूका लागि समावेशी अवसर सिर्जना गर्दै रोजगारीमुखी सिप विकासमार्फत दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। एनसेल फाउन्डेसनले सामाजिक परिवर्तन र समावेशीताको प्रवद्र्धनमा जोड दिँदै डिजिटल डिभाइड घटाउने, शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्ने, र समुदायलाई सशक्त बनाउने कार्यमा सक्रिय छ।
एनसेल फाउन्डेसनले हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान प्रदान गरेको छ, जसले १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा सकारात्मक प्रभाव पारेको छ। काठमाडौं उपत्यकादेखि पहाड र तराईका दुर्गम क्षेत्रसम्म, फाउन्डेसनले समुदाय सशक्तीकरण र विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यो सिप मेला २०८२ को सहकार्यले नेपालको सिप विकास र रोजगारीको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
तालिमका क्षेत्र र अवसरहरू
जेठ ७ गतेदेखि सुरु भएको सिप मेलाले हाल १० क्षेत्रमा आधारित ३७ पेशामा २,४२४ सहभागीलाई तालिम प्रदान गरिरहेको छ। तालिमका प्रमुख क्षेत्रहरू निम्नानुसार छन्:
आइसिटी: साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी, ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) र एआईको प्रयोग।
सौन्दर्य (ब्युटिसियन): विक्स, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर)।
विशेष क्षमता सहयोगी तालिम: हाउसकिपिङ (बहिरा अपाङ्गता भएका बालबालिकाका लागि) र केयर सर्भिस (डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाका लागि)।
इलेक्ट्रिक्स: ल्यापटप रिपेयर, एसी एन्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयर, मोबाइल रिपेयर।
गार्मेन्ट्स: गार्मेन्ट फेब्रिकेटर, बेसिक फेसन डिजाइनिङ।
कन्स्ट्रक्सन: इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ, कार्पेन्ट्री।
हस्पिटालिटी: बारिस्ता, वेटर, फास्ट फुड, बेकरी।
अटोमोबाइल्स: इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन मर्मत, मोटरसाइकल र स्कूटर मर्मत।
आर्ट एन्ड स्कल्पचर: थाङ्का, सेरामिक्स (टेराकोटा), ज्योतिष, पुरोहित।
कृषि र अन्य: फूलको सजावट (फ्लावर डेकोरेसन), स्टक मार्केट।





























प्रतिक्रिया