प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबार लचिलो, अधिकांश व्यवस्था हटाइए

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबार लचिलो, अधिकांश व्यवस्था हटाइए

केन्द्रबिन्दु
147
Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबारमा अनिवार्य बैंक स्टेटमेन्ट चाहिने व्यवस्था एक साता नपुग्दै हटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य चाहिने गरी २० जेठमा निर्देशन जारी गरेको थियो ।

आइतबार लचकतासहित “सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको (पहिलो संसोधन) निर्देशन, २०८२”जारी गरेको हो ।

संशोधित व्यवस्थाअनुसार अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट चाहिने छैन । बैंक स्टेटमेन्टसम्बन्धी व्यवस्था नै निर्देशनबाट हटाइएको छ । खरिदकर्ता, बिक्रीकर्ता तथा एजेन्ट कम्पनीका सञ्चालकले अनिवार्य रुपमा केवाईसी फाराम भर्नुपर्ने व्यवस्था पनि हटाइएको छ । यसअघि घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने व्यवस्था थियो ।

यसअघि १० लाखभन्दा माथिको ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्य रुपमा बैंकिङ प्रणाली वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएकोमा त्यो व्यवस्था पनि हटाइएको छ ।

त्यस्तै ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै वा चेकमार्फत गर्दा विक्रीकर्ताको नाममा तयार गरिएको ‘गुड फर पेमेन्ट’ चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

नयाँ व्यवस्थाअनुसार १० लाख रुपैयाँभन्दा माथिको कारोबारको जुनसुकै प्रकाणको भुक्तानी बैंकिङ उपकरणमार्फत गरी सोको प्रमाण र ५० लाख रुपैयाँभन्दा माथिका घरजग्गा खरिद गर्दा क्रेताले बैंकबाट भुक्तानीका लागि गुड फर पेमेन्ट चेक वा बैंक ग्यारेन्टी वा ईपेमेन्ट वा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम तोकिएका भुक्तानीका अन्य उपकरणमार्फत भुक्तानी भएको प्रमाण वा बिक्रेताको खातामा नगद जम्मा गरेको बैंक भौचरको फोटोकपी खरिदकर्ता वा बिक्रीकर्ता दुवैले प्रमाणित गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, यसअघि बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयका हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद–बिक्री कारोबार गर्दा लाग्ने रजिस्ट्रेसन बापत शुल्क र दस्तुर तथा विक्रीकर्ताले तिर्नुपर्ने लाभकर खाताबाट तिर्नुपर्ने व्यवस्था रहेकोमा त्यो पनि हटाइएको छ ।

बैनाबट्टाको कारोबारको बैंक स्टेटमेन्ट पनि अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था पनि हटाइएको छ । घरजग्गा खरिद–बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी ३ करोड वा त्यसभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गरेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था गरिएको थियो । यो सीमालाई घटाएर एक करोडमा झारिएको छ ।

खरिदकर्ता र विक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य गर्नुपर्ने व्यवस्था वैयक्तिक गोपनीयतासम्बन्धी ऐनविपरीत हुने भन्दै त्यो व्यवस्था हटाउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको हो ।

मालपोत ऐन दुई वर्षअघि भएको संशोधनअनुसार निश्चित क्षेत्रफल र निश्चित मूल्यभन्दा माथिको घरजग्गा कारोबार लाइसेन्स लिएको निकायले मात्रै गर्न पाउने व्यवस्था छ । तर, त्यसअनुसार लाइसेन्स दिने र त्यस्तो निकाय तोक्ने काम राजपत्रमा सूचना जारी गरी गर्नुपर्नेमा अहिले अस्तित्वमै नभएका संस्थालाई निर्देशन दिनु अव्यावहारिक हुने भएकाले सच्याउन निर्देशन दिईएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Skip This
Skip This
Logo