बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने बाटो खुल्यो

बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने बाटो खुल्यो

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति (पर्पेच्युअल नन् क्युमुलेटिभ) अग्राधिकार सेयर निष्कासनका लागि बाटो खुला गरिदिएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका नवौं पटक संशोधन गर्दै बोर्डले अविमोच्य असंचिति अग्राधिकार सेयरका निष्कासन गर्ने बाटो खुलाएको हो ।

निर्देशिका संशोधन भएसँगै अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्नेछन् । अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थापक सेयरधनीले मात्रै किनबेच गर्न पाउँछन् । जसको अंकित मूल्य १ सय रुपैयाँ हुनेछ ।

निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निस्कासन गर्न सक्नेछन् । परिपत्र विधिमार्फत निष्कासन हुने यस्तो सेयरमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन् ।

यस्तो सेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप कम्पनीले र सूचीकरण तथा कारोबार प्रक्रिया धितोपत्र बजारले तोकेको व्यवस्थाअनुसार हुनेछ । परिपत्र विधिमार्फत बिक्री भएको सेयर संस्थागत लगानीकर्ताले मात्रै खरिदबिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने छ । त्यस्तो सेयर सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले किनबेच गर्न पाउने छैनन् ।

यस्तो धितोपत्रको रकम फिर्ता वा साधारण सेयरमा परिवर्तन सम्बन्धी व्यवस्था राष्ट्र बैंकले तोकेबमोजिम हुने निर्देशिकामा उल्लेख छ ।

पूँजी कोषको दवावमा रहेका बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने विकल्प यसअघि नै राष्ट्र बैंकले खुला गरेको थियो ।

Logo