गण्डकी ।
निर्माणधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको जारी निर्माण एवं आगामी दिनमा गरिने कामका सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपध्यक्षसहितको टोलीले स्थलगत अध्ययनलाई अघि बढाएको छ ।
लोकमार्ग अन्तर्गत कास्की, पर्वत र बागलुङको विभिन्न खण्डमा पुगेको टोलीले जारी कामको अनुगमनका साथै कार्य प्रगतिको विवरण लिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले जानकारी दिए। अनुगमनका क्रममा बागलुङ तथा कास्कीको पोखरा महानगरका विभिन्न स्थानमा काम अघि बढाउन बढ्दो बस्ती विकास लगायतका समस्या देखिएको उनले बताए।
समस्या देखिएका स्थानमा सम्बन्धित स्थानीय तह एवं सरोकारवाला सबैको सहयोग तथा समन्वयमा निर्माण कार्यलाई तीव्रता दिनु पर्ने कँडेलको भनाइ छ । निर्माणको गुणस्तरीयतामा प्राविधिक पक्षले अत्यन्त महत्व राख्नेमा जोड दिँदै उनले विभिन्न आयोजनाको सफलता सम्बद्ध सबै पक्षको समन्वय र सहकार्यमा निर्भर रहने बताए ।
विश्वव्यापी महामारीका रुपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमणले विकास निर्माणमा प्रत्यक्ष असर परेको बताउँदै उनले सङ्क्रमणको बाबजुद पनि राष्ट्रिय गौरवका आयोजना अघि बढाउन सरकारी पक्षबाट कुनै कसर बाँकी नराखिएको उल्लेख गरे ।
प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले लोकमार्ग अन्तर्गत पोखरा महानगर खण्डमा पर्ने २३ किलोमिटर दूरीका सडकका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भए पनि काम अघि बढन नसकेको बताए। सडक खण्डका विभिन्न स्थनमा बढ्दो बस्ती विकास लगायतका समस्या रहेकोले सम्वद्ध सरोकारवाला सबैले थप छलफल गरी निर्माण कार्यलाई अघि बढाउन पहलकदमी गर्नुपर्ने उनले आवश्यकता औल्याएँ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजना सञ्चालन पूर्व सम्बन्धित स्थानीय तह एवं सम्वद्ध पक्षसँग छलफल गरिनु पर्नेमा जोड दिए । विकासका काममा सकेसम्म सर्वसाधारणको कम क्षति हुने गरी गर्नुपर्ने बताउँदै उनले जनताले अधिकतम लाभ पाउने यस किसिमका योजनामा महानगरले आफ्ना तर्फबाट सहजीकरण गर्ने बताए ।
मङ्सिर २ गते लोकमार्ग अन्तर्गतको कास्कीको हेमजास्थित सेती नदी निर्माणाधीन पक्की पुलबाट शुरु गरेको सो टोलीले पर्वत हुँदै बागलुङ, रोल्पा र रुकुमको सङ्गमस्थल बुर्तिवाङ, पातीहाल्ने स्थानसम्म स्थलगत अनुगमन गरेको थियो । सो टोलीले लोकमार्गका साथै सालमण्डी, बुर्तिवाङ ढोरपाटन अर्को सडक आयोजना, कालीगण्डकी करिडोरको राहुघाट र निसीखोला गाउँपालिकास्थित अन्तरगङ्गा जलविद्युत् आयोजना लगायतका विभिन्न विकास निर्माणको अनुगमन गरेको थियो ।
विक्रम सम्बत २०७५ पुसदेखि शुरु भएको आयोजना अन्तर्गत कास्की, पर्वत र बागलुङ खण्डको कूल २४० किमी क्षेत्रफलमध्ये २०१ किमीमा काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले जानकारी दिए । उनका अनुसार यस खण्डको बाँकी कास्की र लमजुङ जोडने १६ किमीको बोलपत्र आह्वान भइसकेको छ भने कास्कीको पोखरा महानगरपालिका अन्तर्गतको २३ किमी सडक खण्डका लागि निर्माण प्रक्रिया अघि बढेको छैन । आर्थिक वर्ष २०७८/७९ सम्म निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको र विभिन्न १२ वटा ब्लकमा काम भइरहेको उनले जानकारी दिए। आयोजनाको यस खण्डका लागि कूल साढे छ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।रासस





























प्रतिक्रिया