काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न आग्रह गरेका छन् ।
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)को शुक्रबार राजधानीमा सम्पन्न २१औं वार्षिक साधारणभामा बोल्दै अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना रहेकोले यी सम्भावनाहरुलाई उजागर गर्दै स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न युवाहरुलाई सुझाव दिए ।
“नेपालमा धेरै अवसरहरु छन् । नेपालमा नै बसेर धेरै गर्न सकिन्छ । रोजगारी सिर्जना गर्न सकिन्छ । म युवाहरुलाई स्वदेशमा नै अवसर सिर्जना गर्न आग्रह गर्दछु ।” उनले भने ।
देशको आर्थिक विकासमा युवाहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले देशमा उद्यमशीलताको विकास गर्न स्वदेशी पूँजी परिचालन गर्न सकिने बताए । स्वदेशमा काम गर्न चाहनेहरुको लागि पूँजी अभाव नहोस भनेर महासंघको अगुवाईमा १० अर्ब रुपैयाँको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले युवाहरुका नवप्रर्वतनमा सहयोग गर्न सकिने धारणा राखे ।
“विकासका लागि देशभित्रकै पूँजी परिचालन आवश्यक छ ।” उनले भने, “कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका क्षेत्रमा नेपालमै अपार सम्भावना छन् । आवश्यकता केवल सही नीतिगत सहजीकरण र युवाहरुको इनोभेसनलाई प्रोत्साहन गर्ने हो ।”
महासंघले देशको आर्थिक समृद्धिको लागि सरकारसंग नीतिगत बहस पैरवी गरेको र फलस्वरुप ३० भदा बढि कानूनहरु संशोधन भएको भन्दै लगानीको वातावरण बन्दै गईरहेको बताए । उनले युवाहरुलाई उद्यमशीलता र नवप्रवर्तन आकर्षित गर्ने महासंघ सधैं तयार रहको बताउँदै महासंघको हालै शंसोधित विधानले (एनवाईईएफ) लाई महासंघको पदेन केन्द्रीय सदस्य बन्ने व्यवस्था रहेको जानकारी दिए ।
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) को २१औं वार्षिक साधारणभाले युवा उद्यमी सुदीप घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।





























प्रतिक्रिया