काठमाडाैं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलग कार्यक्रम आज काठमाडौंको नक्सालस्थित एभरेष्ट होटलमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
नेपालको बैंकिङ क्षेत्रको भविष्य, आर्थिक सुधार र डिजिटल प्रविधिको एकीकरणमा केन्द्रित यो कार्यक्रममा नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथिका रूपमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा र प्रख्यात अर्थ विश्लेषक अनलराज भट्टराईलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. निलम ढुंगानाले नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको बताउँदै हालको न्यून ब्याजदर लगानीका लागि उपयुक्त समय भएको उल्लेख गरिन् । उनले भनेकी छन्, “बजेटले निर्धारण गरेको प्राथमिकताका आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गरेको छ । यो नीतिलाई सरोकारवालाहरूले अधिकतम उपयोग गरी आर्थिक विकासमा योगदान पु-याउनुपर्छ ।”

उनले बैंकिङ क्षेत्र र निजी क्षेत्रलाई यो अवसरको लाभ उठाउन आग्रह गरिन्, जसले अर्थतन्त्रलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरिन् ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ क्षेत्रको भविष्यका लागि पाँचवटा प्रमुख विषयमा ध्यान दिनुपर्ने जोड दिए । उनले भने, “संस्थागत सुशासन, कर्पोरेट संस्कृति, नवीन कार्यक्रम (स्किम), प्रविधिको उपयोग र राष्ट्रिय अर्थतन्त्रसँग बैंकिङ क्षेत्रको एकीकरणमा गहन बहस आवश्यक छ ।”
थापाले नेपालको बैंकिङ क्षेत्रको सुरुवात सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलबाट भएको स्मरण गराउँदै यसको ऐतिहासिक रणनीतिक महत्त्वमाथि प्रकाश पारे । उनको भनाइले बैंकिङ क्षेत्रको दिगो विकासका लागि नीतिगत स्पष्टता र नवप्रवर्तनको आवश्यकता उजागर गरेको छ ।

बैंकिङ विज्ञ अनलराज भट्टराईले नेपालको अर्थतन्त्र संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै संरचनात्मक सुधार र नीति कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेको बताए । उनले भने, “नेपालको बैंकिङ क्षेत्रमा ठूलो प्राविधिक रूपान्तरण भइरहेको छ । चेकबुकबाट सुरु भएको हाम्रो बैंकिङ प्रणाली आज डिजिटल कारोबारको युगमा प्रवेश गरेको छ ।”
भट्टराईले डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैंकिङ प्रणालीले ग्राहकको सुविधा र कार्यक्षमता बढाउनुका साथै अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउने सम्भावना रहेको बताए । उनले डिजिटल बैंकिङको विस्तारले वित्तीय समावेशीकरण र नवप्रवर्तनलाई प्रोत्साहन गरेको उदाहरण प्रस्तुत गरे ।
इमान डायलगले बैंकिङ क्षेत्रका सरोकारवालाहरूलाई एकै मञ्चमा ल्याएर नीतिगत बहस, प्राविधिक नवप्रवर्तन र आर्थिक सुधारका अवसरहरूबारे छलफल गर्ने अवसर प्रदान गरेको छ । यो कार्यक्रमले नेपालको बैंकिङ क्षेत्रमा देखिएको उत्साहजनक प्रगति र चुनौतीहरूलाई सम्बोधन गर्दै भविष्यका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । डिजिटल प्रविधिको तीव्र विस्तार र नीतिगत सुधारका माध्यमबाट नेपालको अर्थतन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित कार्यक्रम समापन भएको छ ।





























प्रतिक्रिया