बीबीआईएन देशहरूबीच व्यापार र आर्थिक सहकार्य अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक छ -अध्यक्ष ढकाल

बीबीआईएन देशहरूबीच व्यापार र आर्थिक सहकार्य अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक छ -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन् ।

३१ औं कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले आयोजना गरेको नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरे । उनले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

“भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधार विकासले समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ,” उनले भने, “नेपालमा सडक, रेल, विमानस्थल र गोदाम पूर्वाधार अझै अपर्याप्त छन् । विशेषगरी सीमा नाकाहरू र मुख्य व्यापार मार्गहरूमा लजिस्टिक्स हबहरूको आवश्यकता छ ।” लजिस्टिक्स विकासले नेपालको निर्यात वृद्धि र विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

अध्यक्ष ढकालले प्रभावकारी र डिजिटल लजिस्टिक्स प्रणालीले व्यवसाय र उद्योगहरूको लागत घटाउने र सस्तो आपूर्ति श्रृंखला निर्माण गर्ने बताए । नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि समुद्री पहुँचको महत्व पनि उनले जोड दिए । यातायात र ढुवानी क्षेत्रमा निजी क्षेत्रको शतप्रतिशत लगानी रहेको उल्लेख गर्दै उहाँले यो क्षेत्रको विकासको लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । साथै, उनले यसको लागि सार्वजनिक निजी साझेदारी मोडलअनुसार काम गर्न चाहे निजी क्षेत्र तयार रहको बताए ।

अध्यक्ष ढकालले ढुवानी सेवामा लगाइएको मूल्य अभिवृद्धि करले ढुवानी सेवा प्रभावित भएको र सामानको मूल्यवृद्धि भई उपभोक्ताहरूलाई चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको बताउँदै यसले नेपालको निर्यात व्यापारमा ह्रास र व्यापार घाटा बढ्ने जोखिम रहेको धारणा राखे । सरकारको कानूनका गरेका संशोधन,बजेटमा उल्लेख भएका व्यवस्था तथा मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने कतिपय विषयहरुको कार्यान्वयनमा समस्या भएको गुनासो गर्दै सरकारलाई विश्वासका साथ काम गर्न आग्रह गरे ।

साथै अध्यक्ष ढकालले नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले स्थापनाकालदेखि नै कार्गो सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यसको भूमिका थप प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।

Skip This
Skip This
Logo