काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा नयाँ क्रान्ति ल्याउने विश्वासका साथ चिनियाँ कम्पनी होजन अटोको इलेक्ट्रिक सवारी ब्रान्ड नेटा भी (नेटा ईभी)ले पाइला राखेको छ ।
होजन कम्पनीले उत्पादन गर्ने ‘नेटाभी’ ब्रान्डका इलेक्ट्रिक गाडीहरू चीनमा मात्र होइन, अब नेपालमा पनि निकै रुचाइएका छन् । नेपालमा यसको आधिकारिक वितरणकर्ता चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्स हो । जसले सन् २०२२ को मध्यतिर ‘नेटाभी’ ब्रान्डको पहिलो इलेक्ट्रिक गाडी नेपालमा सार्वजनिक गरेको थियो ।
नेटा भीले सुरुवातमा ‘नेटा भी’ मोडल ल्याएर नेपाली ग्राहकमा विश्वास जित्न सफल भएको हो । यो मोडल सुरुवाती मूल्य रु ३८ लाख ९९ हजारबाट बिक्री सुरु गरिएको थियो ।
नेटा भी एक हल्का तथा सस्तो मूल्यको सियुभी (कम्प्याक्ट युटिलिटी भेकल) हाे । जुन सहर भित्रको यात्रा तथा साना परिवारहरूको लागि अत्यन्त उपयुक्त मानिन्छ । यसमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग हुन्छ र एक पटक पूरै चार्ज गरेपछि ३८० किलोमिटर (एनइडिसी परीक्षण अनुसार) यात्रा गर्न सक्छ । यसको मोटर पावर ७० किलोवाट (करीब ९५पिएस) छ भने १६० एनएम टर्क उत्पन्न गर्छ ।
अत्याधुनिक डिजाइन, १४.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, जिरो ग्रयाभिटी सीट, स्मार्ट कनेक्सन, भि२एल (भेकल टु लोड) सपोर्ट जस्ता फिचरले यो कारलाई प्रिमियम बनाएको छ ।
चार्जिङको हिसाबले, यो गाडीलाई सामान्य एसी चार्जरबाट ६–८ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने डिसी चार्जर प्रयोग गर्दा ३० मिनेटमा ३० प्रतिशत देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
नेटा भीपछि सिजी मोटर्सले अर्काे मोडलको रुपमा नेटा एक्स सार्वजनिक गर्याे । जसमा थप पावरफुल ब्याट्री, उन्नत डिजाइन र प्रिमियम फिचरहरू उपलब्ध छन् । नेटा एक्स हाल तीनवटा भेरिएन्टमा उपलब्ध छ – कम्फर्ट, कम्फर्ट लङ रेन्ज, र लक्जरी कम्फर्ट मोडलमा ५२ किलोवाट आवर ब्याट्री र ३२३ किलोमिटरको डब्लुएलटीपी रेन्ज छ ।
कम्फर्ट एलआर र लक्जरी दुवैमा ६२ किलोवाट आवर ब्याट्री दिइएको छ । जसले करिब ४१० किलोमिटर यात्रा गर्न सक्छ । तीव्र मोटर पावर (१०० किलोवाट), ठूलो इन्फोटेन्मेन्ट डिस्प्ले, एडिएएस (एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम ) जस्ता फिचरहरूले यो गाडीलाई सी–सेग्मेन्ट एसयुभीको रूपमा स्थापित गरेको छ ।
मूल्यको हिसाबले नेटा एक्स कम्फर्ट मोडल रु ५३.९९ लाख, कम्फर्ट एलआरको ५७.९९ लाख र लक्जरी मोडलको ६२.९९ लाखमा उपलब्ध छन् ।
सबै भेरिएन्टमा डिजिटल इन्टेरियर, एसआर भ्वाइस कन्ट्रोल , ३६० डिग्री प्यानोरमा भ्यू, एआई सहायक, लेन डिपाचर वार्निङ, डोर ओपन अलर्ट जस्ता स्मार्ट फिचरहरू दिइएका छन् ।
सीटहरू लग्जरी डिजाइनमा छन् र पछाडिको भागमा धेरै ठाउँ उपलब्ध हुने भएकाले परिवारका लागि विशेष उपयुक्त हुन्छ ।
नेपालको सडकमा विस्तारै नेटाका यी मोडलहरू देखा पर्न थालेका छन् । सुरुवातीमा केहीले चिनियाँ गाडीमा विश्वास नगरे पनि, सिजी मोटर्सले उचित सर्भिस र वारेन्टी नीति ल्याएर उपभोक्ताको भरोसा जित्न सफल भएको देखिन्छ । ८ वर्ष वा १,५०,००० किलोमिटरको ब्याट्री वारेन्टी, होम चार्जर सहितको प्याकेज, र एक वर्षको बीमा सुविधा ग्राहकलाई थप आकर्षण भएको छ ।
‘अब नेपाल पनि विद्युतीय युगमा’ भन्ने नारासहित होजनले ल्याएको नेटा भी र नेटा एक्सले नेपालको ईभी बजारमा नयाँ तरंग ल्याएको छ ।
यदि अबको केही वर्षमा सरकारी नीतिहरूले थप प्रोत्साहन दिए भने, नेटा जस्ता ब्रान्डहरूले नेपाली बजारमा दीर्घकालीन उपस्थिति बनाउने निश्चित छ । यसले नेपालमा ईभीको भविष्य उज्ज्वल बनाउने छ भन्ने विश्वास गर्न सकिन्छ ।
सीजी मोटर्सले होजनका ईभीहरूलाई नेपाली बजारमा ल्याएसँगै ईभीको विकल्पहरू थपिएका छन् । नेटा भीले आफ्नो आकर्षक डिजाइन, राम्रो रेन्ज र प्रतिस्पर्धात्मक मूल्यका कारण शहरी उपभोक्ताहरूमाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ ।
सीजी मोटर्सले देशभर आफ्नो डिलर नेटवर्क र चार्जिङ पूर्वाधार विस्तार गरी बिक्रीपछिको सेवालाई पनि सुदृढ बनाउने योजना बनाएको छ । होजनको आगमनले नेपाली ईभी बजारमा प्रतिस्पर्धा बढाउनुका साथै उपभोक्ताहरूलाई थप छनोटको अवसर प्रदान गरेको छ ।































प्रतिक्रिया