बेंसीसहर ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत लमजुङ खण्डको केही स्थानमा विवाद सुल्झन नसक्दा सडक निर्माण सुरु हुन सकेको छैन ।
सुन्दरबजार र भोर्लेटार क्षेत्रमा बस्तीभित्रबाट सडक बनाउने सरकारी योजनाको विरोधमा स्थानीय उत्रिएका छन् । उनीहरूले सडक निर्माणका लागि रेखांकन (सर्भे) समेत गर्न दिएका छैनन्।
स्थानीयको अबरोधले ६ वर्षदेखि सर्भे समेत हुन सकेको छैन । बस्तीभित्रको सडकको लगत कट्टा भएको छैन। स्थानीयले संघर्ष समिति बनाएर अवरोध गरिरहेका छन् । संघर्ष समितिका संयोजक उत्तम गुरुङले अहिलेको सडकबाट लोकमार्ग बनाउन नदिने बताए । सरकारले चाहेमा विकल्प निकालेर तलमाथिबाट सडक लैजान सक्ने उनले बताए ।
स्थानीयहरु आफ्ना माग लिएर मुख्यमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा समेत पुगेका छन् । तर, उताबाट पनि सकारात्मक आश्वासन नपाएको स्थानीयको गुनासो छ।
स्थानीयको अवरोधले दायाँबायाँ क्षेत्रमा सडक निर्माण भए पनि सुन्दरबजार क्षेत्रमा लोकमार्ग निर्माण हुन सकेको छैन। पाउँदीदेखि सुन्दरबजार हुँदै खत्रीठाँटी भएर किरिञ्चेखोला पुग्नेगरी सडक निर्माण गरिने भनिएको छ। करिब ८ किमिको क्षेत्रमा सर्भे भएको छैन । लोकमार्गको मापदण्ड अनुसार दायाँबायाँ ३१/३१ मिटर फराकिलो बनाएमा बजार ध्वस्त हुने र अर्बौं रुपैयाँको नोक्सान हुने भन्दै स्थानीय आन्दोलनमा छन्।
पाउँदीदेखि सुन्दरबजार, खत्रीठाँटी हुँदै किरिञ्चेसम्म यसअघिको कच्ची सडकलाई पछयाँदै सडक निर्माण गर्ने आयोजनाको योजना छ। यसअघि सडक भएकाले यही सडकलाई पछयाएमा खर्च कम लाग्ने आयोजनाको दाबी छ। तर, उक्त सडकको लगत कट्टा नगरेको, सडक भएकै ठाउँबाट अधिग्रहण गरेर सडक लाँदा प्रायः सबै सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले बस्तीभित्र सडक पार्ने योजनामा सहमति नभएको बताए। नगरपालिकाको नगरसभाले मानव वस्ती नभएको पाउँदी खोलाको तिरैतिर सडक निर्माण गर्न माग गरिसकेको छ। उक्त ठाउँबाट सर्भे गरिए नयाँ बजारको अवधारणा पूरा हुने र क्षतिपूर्ति कम तिर्नुपर्ने सुझाव छ।
स्थानीय द्वारिकाप्रसाद मिश्रले लोकमार्गको मापदण्ड लागु गरिए सार्वजनिक संरचनासहित ८ सय १३ घर विस्थापित हुने बताए। स्थानीयको अवरोध र माग सम्बन्धमा मध्यपहाडि लोकमार्ग समस्या अध्ययन तथा सुझाव संकलन गर्न गण्डकी प्रदेशका मन्त्री रामशरण बस्नेतको नेतृत्वको कार्यदलले समेत समस्या समाधान गर्न सकेको छैन ।
शुक्रबार मात्र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, मध्यपहाडी आयोजना निर्देशनालयका प्रमुख दिपक केसीसहितको टोलीले सुन्दरबजारमा स्थानीयसँग छलफल गरेका छन् । सो छलफलमा पनि कुनै निश्कर्ष निस्कन नसकेको र स्थानीय आफ्नो मागमा टसको मस नभएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङले बताए ।अन्नपूर्णबाट































प्रतिक्रिया