नाइमा एक्स्पोमा कुन सवारीसाधन कति बुकिङ भए ?

नाइमा एक्स्पोमा कुन सवारीसाधन कति बुकिङ भए ?

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) को आयोजनामा भृकुटीमण्डपमा ६ दिनसम्म चलेको पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भव्यताका साथ सम्पन्न भएको छ ।

सोमबार साँझ समापन भएको यस एक्स्पोमा करिब १ लाख अवलोकनकर्ताले भ्रमण गरेको आयोजकले जनाएको छ । पहिलो संस्करणको नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय सवारीसाधनको दबदबा देखिएको छ ।

एक्स्पोमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी ५० भन्दा बढी ब्रान्डका ३५ नयाँ मोडलहरू सार्वजनिक गरिएका थिए। एक्स्पोमा २ हजार ५०० हाराहरीको सवारीसाधन बुकिङ भएको आयोजकको दाबी छ जसमध्ये अधिकांश हिस्सा विद्युतीय सवारीले ओगटेका छन् । यस एक्स्पोमा चारपाङ्ग्रे गाडीतर्फ बीवाईडी सबैभन्दा सफल ब्रान्ड साबित भएको छ। यसका आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार, बीवाईडीको ८०० भन्दा बढी गाडी बुकिङ भएको छ। यो सफलताको मुख्य कारण नाइमामा सार्वजनिक भएको नयाँ विद्युतीय मोडल अट्टो १ रहेको कम्पनीले जनाएको छ।

त्यसैगरी, हुन्डाईले पनि आफ्नो बजार पकड कायमै राखेको देखिन्छ। एक्स्पोमा हुन्डाईको २ सय ५० भन्दा बढी बुकिङ भएको नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। हुन्डाईले कुनै नयाँ मोडल सार्वजनिक भने गरेको थिएन हुन्डाई आफ्नो पुरानै मोडल प्रदर्शनीमा राखेक थियो ।

अर्को चिनियाँ ब्रान्ड ओमोडा एण्ड जेकोले पनि एक्स्पोमा उत्कृष्ट प्रदर्शन गर्दै ३०० भन्दा बढी बुकिङ प्राप्त गरेको छ । कम्पनीले प्रिमियर एसयूभी जेइको जे–५ सार्वजनिक गरेपछि ग्राहकहरूको ध्यान विशेषगरी यसमा केन्द्रित भएको थियो।

त्यसैगरी, लिपमोटरले १७५ युनिट, एलएअस अटोले ४०, फोर्थिङ फ्राइडेले ३८, फक्सवागनले २८ र टोयोटाले २६ गाडी बुकिङ गर्न सफल भएको छ। चिनियाँ ब्रान्डहरूको बाक्लो उपस्थितिबीच भारतीय कम्पनी महिन्द्राले पनि आफ्नो स्थान सुरक्षित गरेको देखिन्छ । कम्पनीले सार्वजनिक गरेको दुई नयाँ मोडल बीई ६ र एक्सईभी ९ई ले करिब १०० को हाराहारीमा बुकिङ प्राप्त गर्न सफल भएको छ ।

चारपाङ्ग्रे गाडीजस्तै दुईपाङ्ग्रे सवारीसाधनको बजारमा पनि विद्युतीय सवारीको क्रेज स्पष्ट देखियो। एथरले १५० भन्दा बढी स्कुटर बुक गरेको कम्पनीको आधिकारिक वितरक वैद्य इनर्जीले जनाएको छ ।

युवा पुस्तामा लोकप्रिय रहेको दुई पांग्रेसवारी ब्राण्ड केटीएमले पनि २०० युनिट बाइक बुकिङ गराउन सफल भएको छ । अन्य दुईपाङ्ग्रे सवारीतर्फ बेनेलीले ८० वटा, बजाज चेतकले ८० भन्दा बढी र याडियाले ५० वटा बुकिङ प्राप्त गरेका छन्। रोयल एनफिल्डका लागि भने बुकिङको आधिकारिक तथ्यांक उपलब्ध गराएको छ। तर पनि कम्पनीले बाइल लिने मनसाय सहित दुई हजारभन्दा बढीले नाम टिपाएको जानकारी दिएको छ। यसैगरी जिकरले १६, कियाले १५, टोयाटाले २६ भन्दा बढी बुकिङ लिन सफल भएको कम्पनीले जनाएको छ ।

यस एक्स्पोमा बीवाईडी, हुन्डाई, ओमोडा, किया, टोयोटा लगायतका थुप्रै ब्रान्डका सवारीसाधन प्रदर्शनीमा थिए। दुईपाङ्ग्रेतर्फ एथर, बजाज, बेनिली, होन्डा, केटीएम जस्ता ब्रान्डहरूले दर्शकको ध्यान खिचेका थिए। साथै, कमर्शियल सवारीसाधनतर्फ चेरी वान्डा, डोङफेङ जस्ता ब्रान्डको पनि उपस्थिति थियो। नयाँ मोडलहरूको सार्वजनिक र उत्साजनक बुकिङले यो क्षेत्रमा थप लगानी र प्रतिस्पर्धा बढ्ने संकेत दिएको छ।

Logo