चिनियाँ प्रविधिको त्रिकोणबाट जन्मिएको अवतार ११, नेपाली बजारमा धमाका मच्चाउँदै

चिनियाँ प्रविधिको त्रिकोणबाट जन्मिएको अवतार ११, नेपाली बजारमा धमाका मच्चाउँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अवतार केवल एउटा विद्युतीय गाडी मात्र नभई भविष्यको परिकल्पनालाई वर्तमानमा जिउँदो बनाउने एउटा साहसी प्रयासको रुपमा स्थापित सवारीसाधन हाे । जसले तीन विशाल शक्ति केन्द्रहरूको सहकार्यमा जग बसालेको छ । चोङकिङ चाङ्गन अटोमोबाइल कम्पनी लिमिटेड, हुआवे टेक्नोलोजीज र क्याटिएल तीन फरक क्षेत्रमा अग्रणी, तर एउटै लक्ष्यसहित अगाडि बढिरहेका छन् ।

अवतार एउटा अपेक्षाकृत नयाँ ब्रान्ड भए पनि यसले विश्वव्यापी रूपमा प्रिमियम ईभी बजारमा तीव्र रूपमा आफ्नो उपस्थिति जनाइरहेको छ । यसको मुख्य बजार चीन हो, जहाँ यसले टेस्ला, नियो र अन्य प्रिमियम ईभी ब्रान्डहरूसँग प्रतिस्पर्धा गरिरहेको छ । पछिल्लो समय नेपालमा पनि यसले प्रभुत्व जमाइरहेको छ ।

नेपालमा अवतार ११ को इन्ट्री

नेपाली बजारमा अवतार ११ सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गरिरहेका छन् । सन् २०१८ मा स्थापना भएको अवतार टेक्नोलोजी कम्पनीले त्यसको ४ वर्षपछि अर्थात सन् २०२२ मा नेपालमा पहिलो मोडल अवतार ११ ल्याएको थियो । सोही कार राइट ह्यान्ड ड्राइभमा समेत आएपछि नेपाली बजारमा भित्रिन थालेको हो ।

१ करोड ४५ लाखदेखि १ करोड ६० लाख सम्म मूल्य निर्धारण गरिएको यो विद्युतिय गाडी अवाटर टेक्नोलोजीद्वारा विकास गरिएको अवाटर ११ अत्याधुनिक सिएचएन प्लेटफर्ममा आधारित छ । यो एसयूभी दुईवटा ब्याट्री भेरियन्टमा उपलब्ध छ । ९० किलवाट आवर ११६ किलवाट आवर जसले क्रमशः अधिकतम ६८० किलोमिटरसम्मको (एनइडिसी मापदण्डअनुसार) ड्राइभिङ रेन्ज प्रदान गर्न सक्छ ।

पर्फर्मेन्स

नेपाली बजारमा एक वर्ष अगाडी प्रवेश गरेको अवतार ११ विद्युतीय एसयूभीले आफ्नो १९० किलोवाट क्षमताको मोटरमार्फत २५८ पिएस पावर र ३७० एनएम टर्क उत्पादन गर्ने क्षमतासहित ध्यान आकर्षित गरेको छ । यसले गाडीलाई तीव्र एक्सेलेरेसन र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ ।

गाडीमा प्रयोग गरिएको उच्च क्षमताको ब्याट्री प्रणालीले विशेष चर्चा पाएको छ । ११६ किलोवाट घण्टा ब्याट्री भेरियन्टले एनईडिसी मापदण्डअनुसार अधिकतम ६८० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । जसले गर्दा यो एसयूभी शहरभित्रको दैनिक प्रयोगदेखि लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त मानिन्छ ।

अवाटर ११ ले द्रुत चार्जिङ सुविधा पनि उपलब्ध गराएको छ । २४० किलोवाट डीसी फास्ट चार्जरको प्रयोगमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न मात्र २५ मिनेट लाग्छ । जसले गर्दा चार्जिङमा समयको खपत न्यून हुने र प्रयोगकर्ताको अनुभव अझ सहज बन्ने अपेक्षा गरिएको छ ।

गाडीमा जडान गरिएको १९० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर, अत्याधुनिक अटोमेटिक ट्रान्समिसन र अधिकतम २ सय किलोमिटर प्रतिघण्टाको गति क्षमताले यो एसयूभीलाई उच्च प्रदर्शनयुक्त विद्युतीय सवारीको रूपमा नेपाली बजारमा चिनाएको छ । उच्च प्रविधि, उत्कृष्ट डिजाइन र दीर्घकालीन ऊर्जा क्षमताका साथ अवाटर ११ नेपाली ईभी पारखीहरूका लागि एक प्रिमियम विकल्प बन्ने अपेक्षा गरिएको छ ।

डिजाइन

अत्याधुनिक डिजाइनमा आधारित अवतार ११ नेपाली बजारमा निकै आकर्षक रुपमा प्रस्तुत भएको छ । यसको स्लीक सिल्हौट, तीव्र रेखाहरू तथा अगाडिको भागमा उच्च स्थानमा राखिएका एलईडी हेडलाइटहरू र डायनामिक एल आकारका टर्न इन्डिकेटरहरूले गाडीको फ्रन्ट लुकलाई झनै प्रभावशाली बनाएको छ ।

गाडीको साइड प्रोफाइलले कुपे स्टाइलको झल्को दिन्छ । जहाँ ढल्केको छानाको डिजाइन र गाडीको बडीसँग पूर्णतः मिल्ने फ्लश डोर ह्यान्डलहरू समावेश गरिएको छ । यी विशेषताले गाडीलाई अझै एयरोडाइनामिक र स्टाइलिस देखाएको छ ।

अवतार ११ मा प्रयोग गरिएको २१ इन्चको ठूला अलोय ह्वीलहरूले गाडीलाई सशक्त र बलियो उपस्थिति प्रदान गर्छन् भने पछाडिको भागमा रहेको फुल विथ एलईडी टेललाइटले समग्र डिजाइनमा प्रिमियम र आधुनिक अनुभूति थपेको छ । यो एसयूभी केवल प्रविधिमा मात्रै हाेइन, डिजाइनमा पनि उच्चस्तरीय विद्युतीय सवारीको प्रतिनिधित्व गर्छ ।

सुरक्षा र विशेषता

अवतार ११ मा सुरक्षालाई प्रमुख प्राथमिकता दिइएको छ । यस विद्युतीय एसयूभीमा एबीएस (एण्टी लक ब्रेकिङ सिस्टम), ईबीडी (इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन), ट्र्याक्सन कन्ट्रोल तथा हुआवे आइट्र्याक जस्ता उन्नत प्रविधिहरू जडान गरिएको कम्पनीले जनाएको छ ।

गाडीमा यात्रु सुरक्षाका लागि छ वटा एयरब्यागको व्यवस्था गरिएको छ भने ३६० डिग्री क्यामेरा, टकराव सचेतना प्रणाली र पार्किङ असिस्टेन्सजस्ता स्मार्ट सुविधा पनि उपलब्ध छन् । यससँगै, अवतार ११ मा लेजर रडार प्रविधिसहितको एडाप्टिभ ड्राइभर असिस्टेन्स सिस्टम पनि दिइएको छ । जसले सडकमा अझ सुरक्षित र जिम्मेवार ड्राइभिङ अनुभव प्रदान गर्न सहयोग गर्ने बताइएको छ । यो गाडी सुरक्षा र प्रविधिको सन्तुलनमा एक कदम अगाडि रहेको दाबी गरिएको छ ।

Logo