ग्लोबल आइएमई बैंकको नाफामा सामान्य वृद्धि, लाभांश क्षमतामा भने उल्लेख्य सुधार

ग्लोबल आइएमई बैंकको नाफामा सामान्य वृद्धि, लाभांश क्षमतामा भने उल्लेख्य सुधार

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.०९ प्रतिशतले धेरै हो। बैंकको आम्दानी बढे पनि सम्भावित नोक्सानीका लागि छुट्याइएको रकम (प्रोभिजनिङ) मा भएको वृद्धिका कारण नाफामा उल्लेख्य सुधार हुन सकेन।

बैंकको कुल नाफामा सामान्य वृद्धि भए पनि वितरणयोग्य नाफामा भने ठूलो सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ५० करोड ६७ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा ९६१.५९ प्रतिशतले बढेर ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकको लाभांश वितरण क्षमता पनि १.४० प्रतिशतबाट बढेर १४.११ प्रतिशत पुगेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। खुद शुल्क तथा कमिसन आम्दानी २०.१२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड २० लाख पुगेको छ।

सञ्चालन नाफा २.७५ प्रतिशतले घटेर ८ अर्ब ७७ करोड ६ लाख रुपैयाँमा झरेको छ। बैंकको निष्क्रिय कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ। यसै कारण बैंकले प्रोभिजनिङमा पनि वृद्धि गरेको छ । जुन अघिल्लो वर्ष ३ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ रहेकोमा यस वर्ष ४ अर्ब ३० करोड ५४ लाख रूपैयाँ पुगेको छ।

बैंकले निक्षेप संकलनमा १२.९५ प्रतिशत र कर्जा प्रवाहमा ११.४७ प्रतिशतको वृद्धि गरेको छ। यससँगै निक्षेप ५ खर्ब ५० अर्ब ६३ करोड रुपैयाँ र कर्जा ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। बैंकले गत वर्ष बोनस सेयरमार्फत पुँजी बढाएकाले प्रतिसेयर आम्दानी १६.९९ रुपैयाँ बाट घटेर १६.२८ रुपैयाँ पुगेको छ।

Logo