नबिल बैंकको नाफासँगै अधिकांश सूचक सकारात्मक, लाभांश क्षमता कति ?

नबिल बैंकको नाफासँगै अधिकांश सूचक सकारात्मक, लाभांश क्षमता कति ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०२ प्रतिशतको वृद्धि हो। बैंकले अघिल्लो वर्ष ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ मुनाफा कमाएको थियो। बैंकको यो सफलताको मुख्य कारणहरूमा सम्भावित नोक्सानीका लागि छुट्याइएको रकम (प्रोभिजनिङ) मा आएको कमी र खुद व्यापार आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा भएको वृद्धि हो।

बैंकको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म १६ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १६ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ पुगेको छ। यसका साथै, खुद शुल्क तथा कमिसन आम्दानी पनि ३ अर्ब २५ करोड १७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी १५ अर्ब ६७ करोड २६ लाख रुपैयाँबाट बढेर १८ अर्ब ६० करोड ७२ लाख रुपैयाँ पुगेको छ। नाफामा सुधार आएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २२ रुपैयाँ ९० पैसाबाट बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ।

निक्षेप संकलन र कर्जा प्रवाहमा पनि बैंकले राम्रो प्रदर्शन गरेको छ। बैंकले एक वर्षको अवधिमा ६२ अर्ब ५० करोड रुपैयाँ निक्षेप बढाएर ५ खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाहमा ३९ अर्ब रुपैयाँले विस्तार गर्दै ४ खर्ब १२ अर्ब ८० करोड रुपैयाँ पुर्याएको छ। यता, निष्क्रिय कर्जा भने अघिल्लो वर्षको ४.१७ प्रतिशतबाट सामान्य बढेर ४.२७ प्रतिशत कायम भएको छ।

बैंकको वित्तीय अवस्थाका अन्य सूचकहरू पनि सकारात्मक रहेका छन्। प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २०.५५ गुणा कायम भएको छ। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको बैंकको वितरणयोग्य नाफा हो । जुन ४ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ रहेको छ। यसले बैंकलाई आफ्ना सेयरधनीहरूलाई १७.६४ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता दिएको छ।

Logo