काठमाडौं । २२ वर्षअघि श्रीमान् ज्योति नकर्मीको प्रेरणा र हौसलाबाट जुली प्रधानाङ्गले एउटा सानो कोठाबाट सुरु गरेकाे जुलीज केक्स एन्ड पेस्ट्रिज अहिले आएर एउटा सफल ब्रान्ड बनेको छ।
यो घरेलु उद्योग व्यावसायिक रूपमा अगाडि बढिरहेको छ। सुरुमा श्रीमान्-श्रीमती र चार जना कामदारबाट सुरु भएको यो यात्रामा अहिले धेरैले रोजगारी पाएका छन्।
जुलीले आफ्नो मेहनत, ग्राहकको माया, र उत्पादनको गुणस्तरलाई सबैभन्दा महत्त्वपूर्ण मान्छिन्। उनी भन्छिन्, ‘ग्राहकको रोजाइअनुसार गुणस्तरीय उत्पादन दिन पाउँदा मलाई धेरै सन्तुष्टि मिल्छ।’
बजारमा जताततै खुलेका बेकरी र केक पसलहरूको गुणस्तर, मूल्य र सरसफाइमा सरकारी निकायबाट अनुगमन र निगरानी भएमा उपभोक्ताले स्वस्थकर उत्पादन पाउन सक्ने कुरामा उनी जोड दिन्छिन्।
जुलीका अनुसार ठूला होटलका महँगा उत्पादनहरू सबै वर्गका नेपालीको पहुँचमा हुँदैनन्, त्यसैले सबैका लागि सुलभ मूल्यमा उत्पादन दिनु आफ्नो ब्रान्डको विशेषता हो।
जुलीज केक्स एन्ड पेस्ट्रिजको कुपण्डोलस्थित मुख्य आउटलेट राम्रैसँग चलेको छ। तर, काठमाडौं, भक्तपुर र ललितपुरबाट माग बढ्दै गएपछि खोलिएको लैनचौरको अर्को आउटलेट भने कोरोना महामारीका कारण बन्द गर्नुपरेको थियो, जसबाट केही नोक्सान पनि बेहोर्नुपर्यो ।
जुलीले आजबाट आफ्नो तेस्रो शाखा इमाडोलमा खोलेकी छन्। ग्राहकको बढ्दो माग, बजारको विस्तार र फ्याक्ट्री नजिक भएकाले ताजा र छिटो सेवा दिन यो शाखा खोलिएको उनले बताइन्।
होम डेलिभरीको सुविधा भए पनि धेरै ग्राहक अर्डर गर्न पसलमै आउने गर्छन्, जसबाट उनीहरूले प्रत्यक्ष रूपमा प्रतिक्रिया पाउँछन् र व्यवसायलाई थप व्यवस्थित गर्न मद्दत मिल्छ । जुली आफ्नो व्यवसायमा दक्ष जनशक्ति, नयाँ प्रविधि, र पर्याप्त प्राविधिक ज्ञानका साथ अगाडि बढिरहेकी छन्।
साथै फुडमाण्डु, मुन्चा, ठमेल डटकम जस्ता प्लेटफर्महरूसँगको साझेदारीमा बिक्री वितरण गर्दै आएको छ । जुली प्रधानाङ्गले अब आफ्नो व्यवसाय ई–कमर्स क्षेत्रको रूपमा अघि बढाउने बताइन्।































प्रतिक्रिया