काठमाडौं। पछिल्लो समय विद्युतीय सवारी (ईभी) को प्रयोग विश्वव्यापी रूपमा नै आक्रामक रूपमा बढिरहेको छ । ईभी आपूर्ति शृङ्खलाको अनुसन्धान गर्ने कम्पनी ‘आरएचओ मोशन’ले प्रकाशित गरेको तथ्याङ्कअनुसार विश्वव्यापी बजारमा सन् २०२५ को पहिलो सात महिनामा ईभी बिक्री २७ प्रतिशतले वृद्धि हासिल गरेको छ।
जुलाई महिनामा मात्रै विश्वभर १६ लाख ईभी बिक्री भएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी हो। आरएचओ मोशनका डाटा म्यानेजर चार्ल्स लेस्टरका अनुसार, सन् २०२५ को सुरुवाती सात महिनामा विश्वव्यापी ईभी बिक्री १ करोड ७ लाख युनिट पुगेको छ। यो वृद्धिले ईभीको भविष्य उज्ज्वल रहेको संकेत गरेको छ।
ईभी विस्तारमा चीन आक्रामक
चीन विश्वको सबैभन्दा ठूलो ईभी बजारका रूपमा आफ्नो नेतृत्व कायम राख्न सफल भएको छ। यहाँ जुलाई महिनामा बिक्री केही घटे पनि वर्षको सुरुदेखि हालसम्म २९ प्रतिशतको वृद्धि भएको छ। जसले कुल बिक्री ६० लाख युनिट पुर्याएको छ।
चीनमा बिक्री भएका कुल गाडीमध्ये ५० प्रतिशतभन्दा बढी ईभी छन्। यहाँ ब्याट्रीबाट चल्ने पूर्ण इलेक्ट्रिक गाडीको बिक्रीमा ४० प्रतिशतको वृद्धि भएको छ। जबकि प्लग–इन हाइब्रिडको बिक्री १४ प्रतिशतले मात्रै बढेको छ। सरकारले गत वर्ष सुरु गरेको उपभोक्ता वस्तुको ‘ट्रेड–इन’ योजनालाई निरन्तरता दिँदा ईभीको माग बढ्न सहयोग पुगेको छ।
त्यसैगरी, युरोपमा ईभीको बजार ३० प्रतिशतले बढेको छ। जर्मनीमा ईभीको बजार ४३ प्रतिशत वृद्धि भएको छ भने बेलायतमा ३२ प्रतिशतले बढेको छ। यता, फ्रान्समा भने जुलाईमा ९ प्रतिशतको वृद्धि भए पनि समग्रमा ११ प्रतिशतको गिरावट आएको छ। माग बढाउनका लागि फ्रान्सेली सरकारले सेप्टेम्बर ३०, २०२५ देखि न्यून आय भएका परिवारका लागि ईभी लिजिङ योजना पुनः सुरु गर्ने भएको छ। जसबाट ५० हजारभन्दा बढी नयाँ ग्राहकहरू थपिने अपेक्षा गरिएको छ।
इटालीमा पनि नयाँ सब्सिडी योजनाले गर्दा ईभी बिक्री ४० प्रतिशतले बढेको छ। हाल इटालीमा ११ प्रतिशत गाडी ईभी छन्। जर्मनीमा २७ प्रतिशत र बेलायतमा ३० प्रतिशतभन्दा बढी इभी बजार विस्तार भइसकेको छ।
यता, अमेरिका, क्यानडा र मेक्सिको समेटिएको उत्तर अमेरिकी बजारमा भने विद्युतीय सवारीको वृद्धिदर सुस्त देखिएको छ। यहाँ इभी बजारको वृद्धि २ प्रतिशत रहेको छ। अमेरिकामा ‘इन्फ्लेसन रिडक्सन एक्ट’ अन्तर्गतको कर क्रेडिटको म्याद सेप्टेम्बर ३० मा सकिनुअघि तेस्रो त्रैमासिकमा ईभीको माग केही बढ्ने अनुमान गरिएको छ । तर त्यसपछि माग घट्न सक्ने सम्भावना छ।
अमेरिकी सरकारले आयातित कारमा १५ प्रतिशत ट्यारिफ लगाउने सम्झौता गरेको छ। यसले गर्दा केही प्रमुख अटोमेकर कम्पनीहरूले इन्धनबाट चल्ने गाडीको उत्पादन बढाएर नाफा कमाउने रणनीति अपनाएको देखिन्छ।
विश्वका अन्य क्षेत्रमा भने ईभी बिक्रीमा ४२ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। आरएचओ मोशनका अनुसार यी क्षेत्रहरूमा ९ लाख युनिट ईभी बिक्री भएको छ। यसले ईभीको माग विश्वका हरेक कुनामा फैलँदै गएको संकेत गरेको छ।





























प्रतिक्रिया