विद्युतीय सवारीसाधनको नयाँ विकल्प बन्दै आयोन, यी हुन् नेपालमा उपलब्ध २ मोडल

विद्युतीय सवारीसाधनको नयाँ विकल्प बन्दै आयोन, यी हुन् नेपालमा उपलब्ध २ मोडल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोबाइल कर्पोरेशनको सहायक ब्राण्ड आयोनले नेपालीमा बजारमा आद्नो उपस्थितिलाई बलियो बनाउँदै लागेको छ । करिब डेढ वर्ष अगाडि नेपाल प्रवेश गरेको यो ब्राण्ड नेपाली विद्युतीय सवारीसाधनको बजारमा नयाँ विकल्प थपेको छ ।

जीएसी आयोनका गाडीहरू नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा भित्र्याएको हो। यस अन्तर्गत आयोन वाई र आयोन भी मोडलका विद्युतीय गाडीहरू उपलब्ध छन् । यी मोडलहरूले नेपाली उपभोक्ताको आवश्यकताअनुसार विभिन्न सुविधा र विशेषताहरू प्रदान गरेका छन्।

आयोन भी

आयोन भी एलाइट र लक्जरी गरी भेरियन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः ६४ लाख ९९ हजार रुपैयाँ र ६९ लाख ९९ हजार रुपैयाँ रुपैयाँ रहेको छ । दुवै भेरियन्टमा १०० किलोवाट अधिकतम पावर रहेको छ. जसले २४० एनएम अधिकतम टर्क उत्पादन गर्छ। १८५ मिलिमिटरको राम्रो ग्राउन्ड क्लियरेन्स रहेको यसले ७.९ सेकेन्डमा १०० किलोमिटर/घन्टाको गति हासिल गर्ने क्षमता राख्दछ । नेपालका ग्रामीण र सहरी दुवै सडकका लागि यो ग्राउन्ड क्लियरेन्स निकै उपयुक्त मानिन्छ।

दुई भेरियन्टबीचको मुख्य भिन्नता ब्याट्री क्षमता र रेन्जमा छ। एलाइट भेरियन्टमा ६४.५ किलोवाटको ब्याट्री रहेको छ। जसले ५२० किमीको रेन्ज प्रदान गर्दछ। लग्जरी भेरियन्टमा भने ठूलो ७५.३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । जसले ६५० किमीको उत्कृष्ट रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। लामो यात्राका लागि यो रेन्ज नेपाली उपभोक्ताका लागि निकै आकर्षक हुनसक्छ ।

नेपाली ईभी सेग्मेन्टमा आयोन भीले नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायी अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको सीजीको दाबी छ ।

आयोन वाई

आयोन वाई मोडल पनि नेपालमा निकै लोकप्रिय छ। जसको मूल्य ५८ लाख ५० हजार रुपैयाँ रहेको छ।आयोन वाई मोडेल पाँच लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्टमै खरिद गर्न सकिन्छ । यसमा ६१.५४ किलोवाट घण्टाको ब्याट्री क्षमता छ । जसले ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

आयोन वाईको अधिकतम पावर १०० किलोवाटर र अधिकतम टर्क २२५ एनएम छ । यसलाई सहरभित्रको यात्राका लागि पर्याप्त शक्ति प्रदान गर्छ। यसको १८३ मिलिमिटर ग्राउन्ड क्लियरेन्सले पनि नेपालको सडकको चुनौतीलाई सामना गर्न सक्छ।

युवा तथा प्राविधिक ज्ञान भएका उपभोक्ताहरूलाई लक्षित गर्दै ल्याइएको यो गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको टच स्क्रिन डिस्प्ले, ३६० एचडी भ्यु क्यामेरा सिस्टम, एडभान्स्ड ड्राइभर–असिस्टेन्स सिस्टम (एडीएएस) लगायतका फिचर रहेका छन् । आयोन भी र आयोन वाई दुवैले नेपाली बजारमा विद्युतीय गाडीहरूको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई विभिन्न विकल्पहरू दिएका छन्। जसले गर्दा उनीहरू आफ्नो आवश्यकता र बजेटअनुसारको गाडी छनौट गर्न सक्छन्।

Logo