काठमाडौं । नेपाली मोटरसाइकल बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको हिरो मोटर्सले अब दुई नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । नाडा अटो शो २०२५ को अवसरमा, हिरोको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले दुई ‘हटकेक’ मोडल जुम १२५ स्कुटर र एक्सपल्स २१० मोटरसाइकल नेपाली ग्राहकमाझ ल्याउँन लागेको हो । यी दुई नयाँ उत्पादनले बजारमा नयाँ उत्साह थप्ने र प्रतिस्पर्धालाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ ।
कम्पनीले जुम १२५ को नाडामा बिक्री सुरू गर्नेछ भने एक्सपल्स २१० प्रदर्शनका लागि मात्र राख्ने तयारी गरेको हो । हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २१० भने केही समयपछि मात्र बिक्री सुरू हुनेछ ।
हिरो जुम १२५
हिरोले नेपाली स्कुटर बजारमा १२५ सीसी सेग्मेन्टमा आफ्नो पकड बलियो बनाउन जुम १२५ ल्याएको छ । यो स्कुटर विशेष गरी युवा ग्राहकहरूलाई लक्षित गरी बनाइएको छ । यसले बजारमा एनटर्क १२५ र रेजेडआर १२५ जस्ता स्थापित मोडलहरूलाई कडा चुनौती दिने देखिन्छ । अनुमानित मूल्य ३ लाख ३० हजार रुपैयाँ रहेको यो स्कुटर नाडा अटो शोमा नै बिक्रीका लागि उपलब्ध हुनेछ ।
जुम १२५ मा १२४.६ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९.८ ब्रेकहर्स पावर र १०.४ एनएमको टर्क उत्पादन गर्छ । यसको सबैभन्दा आकर्षक पक्ष भनेको ०-६० किलोमिटर प्रति घण्टाको गति मात्र ७.६ सेकेन्डमा भेट्नु हो । फिचरको कुरा गर्दा, यसमा सेग्मेन्टमै पहिलो १४ इन्चको अलोय ह्वील, सबै एलईडी लाइट, डिजिटल स्पीडोमिटर र स्मार्ट कनेक्ट फिचर जस्ता आधुनिक विशेषताहरू समावेश छन् । सुरक्षाका लागि अगाडि डिस्क र पछाडि ड्रम ब्रेकको प्रयोग गरिएको छ भने, अगाडि टेलिस्कोपिक र पछाडि मोनोशक सस्पेन्सनले आरामदायी यात्रा सुनिश्चित गर्छ ।
एक्सपल्स २१०
एडभेन्चर प्रेमीहरूका लागि हिरोले आफ्नो बहुप्रतिक्षित एक्सपल्स २१० पनि प्रदर्शनीमा राख्ने भएको छ । यद्यपि यो मोडल तत्काल बिक्रीमा भने उपलब्ध हुने छैन, तर यसले मोटरसाइकल पारखीहरूलाई निकै आकर्षित गर्ने निश्चित छ । एक्सपल्स २१० मा २१० सीसीको सिंगल सिलिन्डर, डीओएचसी, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन दिइएको छ, जसले २४.६ बीएचपी पावर र २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।
यो मोटरसाइकलको अफरोड क्षमतालाई विशेष ध्यान दिइएको छ । यसमा ४३ एमएमको फुल्ली एड्जस्टेबल यूएसडी फर्क र २०५ एमएम ट्राभल मोनोशक रियर सस्पेन्सन छ, जसले जुनसुकै बाटोमा पनि सहज राइड प्रदान गर्छ । अन्य फिचरहरूमा इन्ड्युरो स्टाइल टेल सेन्सन, स्विचेबल डबल च्यानल एबीएस, ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर र एलईडी हेडल्याम्प जस्ता प्रविधिहरू छन् । साथै, यसमा टर्न बाइ टर्न नेभिगेसन पनि उपलब्ध छ ।
यी दुवै मोडलको आगमनले नेपाली बजारमा हिरोको स्थान थप बलियो बनाउने अपेक्षा गरिएको छ । विशेष गरी जुम १२५ ले ग्राहकहरूलाई नयाँ विकल्प दिनेछ भने एक्सपल्स २१० ले एडभेन्चर सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।





























प्रतिक्रिया