नाडा अटो शोमा गुड्नेदेखि उड्ने कारसम्म, यी हुन् सवारी कुम्भमेलाका मुख्य आकर्षण

नाडा अटो शोमा गुड्नेदेखि उड्ने कारसम्म, यी हुन् सवारी कुम्भमेलाका मुख्य आकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गुड्नेदेखि उड्ने कार प्रदर्शन गर्दै १७औं संस्करणको नाडा अटो शो–२०२५ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा सुरू भएको अटो शोमा युनिट्री रोबोट, अत्याधुनिक चारपांग्रे रोबोट्स र डिपलको उड्ने कार इभीटोल युएभी मुख्य आकर्षण बनेको छ। नाडा अटो शोमा दौरासुरुवाल लगाएको रोबोट पनि आकर्षणको केन्द्र बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उद्घाटन गरेका हुन्। ६ दिन अर्थात् भदौ ८ गतेसम्म चल्ने उक्त शोमा पहिलोदिन नै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको छ। प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने कार विशेष आकर्षण रहेको छ। अत्याधुनिक प्रविधियुक्त उड्ने कार ’एमएडब्लू वृद्धि अटोकर्प’ले नेपाल भित्र्याएको हो।

नेपालको इतिहासमै पहिलोपटक भित्रिएको उड्ने कारले धेरैको ध्यान आकर्षित गरेको छ। सवारीसाधनको कुम्भमेला भनेर चिनिने अटो शोमा आधा दर्जनभन्दा बढी ब्राण्डले आफ्नो नयाँ मोडल सार्वजनिक गरेका छन्। अटो शोमा १९ लाखदेखि २ करोड २० लाखसम्मका गाडी देख्न पाइन्छ। पहिलो दिनको अटो शोमा सुजुकीको पहिलो विद्युतीय गाडी ई–भिटारादेखि एक्सपेङ एक्स ९, टाटाको सफारी, जीली इएक्स ५, जेवाई एयर, बीवाईडी अटो २, नामी भिगो, जिङपेङसम्म सार्वजनिक भएका छन्।

कुनको मूल्य कति ?

सीजी मोटर्सले एक्सपेङ एक्स ९ लाई यस पटकको शोको सबैभन्दा महँगो गाडीको रूपमा प्रस्तुत गरेको छ। जसको मूल्य २ करोड २० लाख रुपैयाँ रहेको छ । यो गाडीमा २३५ किलोवाट मोटर र ८४.५ किलोवाट आवरको ब्याट्री छ, जसले ४८० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

यता, टाटाले आफ्नो प्रिमियम गाडी सफारी सार्वजनिक गरेको छ। तीन वटा भेरियन्टमा रहेको यस गाडीमा म्यानुअल भेरियन्टको मूल्य १ करोड २१ लाख ९९ हजार रहेको छ। त्यसैगरी, अटोमेटिक भेरियन्टको मूल्य १ करोड २९ लाख ९९ हजार र डार्क भेरियन्टको मूल्य १ करोड ३१ लाख रुपैयाँ तोकिएको छ। टाटाले शोमा नेक्सन के३ र कर्भ ईभी पनि प्रदर्शनमा राखेको छ।

एलआरआर मोटर्सले जीली इएक्स ५ र जेवाई एयर का गाडीहरू पनि औपचारिक रूपमा सार्वजनिक गरेको छ। जीली इएक्स ५ म्याक्स को मूल्य ६४ लाख ९९ हजार र इएक्स ५ प्रो को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ। जेवाई एयरका प्रिमियम मोडलहरूमा भने छुट योजनाहरू दिइएको छ। जसअन्तर्गत पहिले ६८ लाख पर्ने अल्ट्रा अहिले ६४ लाख ९९ हजार र पहिले ५४ लाख पर्ने लाइट अब ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ।

बीवाईडीले अटो २ लाई ४३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ। यसमा १०० किलोवाट मोटर, ५१.१३ किलोवाट आवरको ब्याट्री, र ३४५ किलोमिटरको रेन्ज रहेको छ।

शोमा सबैभन्दा सस्तो गाडीको रूपमा जेनपेङ ब्रान्डको लिनबाक्स इसी०१ लाई प्रस्तुत गरिएको छ। यसको मूल्य १८ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ। १९.२६ किलोवाट आवरको ब्याट्री भएको स्ट्यान्डर्ड भेरियन्ट र ३१.४५ किलोवाट आवरको ब्याट्री भएको प्रिमियम भेरियन्ट उपलब्ध छ। जसको मूल्य २३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

यसैगरी, सुजुकीले आफ्नो पहिलो विद्युतीय गाडी ई–भिटाराको बुकिङ पनि खुला गरेको छ। यस गाडीमा बीवाईडीको प्रसिद्ध ब्लेड टेक्नोलोजीको ब्याट्री प्रयोग भएको छ । यसमा ६१ र ४९ किलोवाट आवरका दुई ब्याट्री विकल्प छन्। कम्पनीका अनुसार यसले एक पटकको चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिनेछ र यसको डेलिभरी आगामी अक्टोबरदेखि सुरु हुनेछ। यसबाहेक, एमएडब्लु वृद्धिले ३७ लाख ९९ हजार रुपैयाँमा नामी भिगो पिकअप ट्रक सार्वजनिक गरेको छ। जसको टप भेरियन्ट ४० लाख ९९ हजार रुपैयाँ रहेको छ।

त्यसबाहेक अटो शोमा हिरो र यामाहाले नयाँ दुईपांग्रे गाडी सार्वजनिक गरेका छन्। एक दर्जन कमर्सियल गाडी समेत शोमा देख्न पाइन्छ । यसैगरी नाटा अटो शोमा भिन्टेज कारहरु पनि रहेका छन्।

Logo