यी हुन् नाडा अटो शोका सबैभन्दा सस्ता मोडलका गाडीहरु

यी हुन् नाडा अटो शोका सबैभन्दा सस्ता मोडलका गाडीहरु

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा विद्युतीय कारहरूप्रति आकर्षण बढ्दै गएको छ । १८ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुने विद्युतीय कारहरूले कम बजेटका ग्राहकहरूको ध्यान खिचिरहेका छन् । यस अटो शोमा विशेषगरी कम मूल्यमै उच्च पर्फमेन्स, राम्रो रेन्ज र आधुनिक फिचर भएका ह्याचब्याक कारहरूले बजारमा नयाँ तरंग ल्याएका छन् ।

नाडा अटो शोमा उपलब्ध केही किफायती र बलिया विद्युतीय कारहरू-

१. जिङपिङ लिङबक्स

ठाकुर मोटर्सले नेपाल भित्र्याएको जिङपिङ लिङबक्स ह्याचब्याक दुई भेरियन्टमा उपलब्ध छ। यसको इन्ट्री भेरियन्ट बेसिक को मूल्य १८ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम मूल्यमै राम्रो रेन्ज र पर्फमेन्स खोज्ने ग्राहकका लागि यो एउटा उत्कृष्ट विकल्प हो । यसको दुवै भेरियन्टमा ३५ किलोवाटको मोटर प्रयोग गरिएको छ ।

बेसिक भेरियन्टमा १९.२ किलोवाट आवरको ब्याट्री छ । यसले २४० किलोमिटरको रेन्ज दिन्छ भने प्रिमियम भेरियन्टमा ३१.४५ किलोवाट आवरको ब्याट्री छ । जसले ३४० किलोमिटरको रेन्ज दिन्छ । यसको लिथियम आयन फस्फेट ब्याट्रीले गाडीलाई सुरक्षित र टिकाऊ बनाउने कम्पनीको दाबी छ ।

२. चांगान लुमिन मिनी

चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नेपालमा बिक्री सुरु गरेको लुमिन मिनी यसको आकर्षक डिजाइन र प्रिमियम फिचरका कारण ग्राहकहरूको रोजाइमा परेको छ । २२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको यो मिनी कार सहरभित्रको प्रयोगका लागि निकै उपयुक्त मानिएको छ । यसमा ३५ किलोवाटको मोटर र २८.०८ किलोवाट आवरको सीएटीएलले बनाएको ब्याट्री रहेको छ । यो कारले सिंगल चार्जमा ३०१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

३. टाटा टियागो ईभी

सिप्रदी ट्रेडिङले नेपाल भित्र्याएको टाटा टियागो ईभी पनि सस्तो मूल्यमा पर्छ। यो कार दुई भेरियन्टमा उपलब्ध छ । टियागो ईभी एक्सटी भेरियन्टको मूल्य २७ लाख ४९ हजार रुपैयाँ र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ । यसमा ४८ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । कम्पनीले अटो शोमा गाडी खरिद गर्ने ग्राहकलाई आजीवन निःशुल्क चार्जिङ, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क इन्स्योरेन्स र इम्बोस्ड नम्बर प्लेट जडान जस्ता विभिन्न आकर्षक अफरहरू दिएको छ ।

४. बीवाइडी एटो–वान

बीवाइडी एटो–वान आधुनिक डिजाइनमा उपलब्ध कम मूल्यको ह्याचब्याक कार हो । साइमेक्स इंकले यसको सुरूवाती मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ । दुवै भेरियन्टमा ४५ किलोवाट क्षमताको मोटर छ । ब्याट्री क्षमतामा भने भेरियन्ट अनुसार फरक छ । डाइनामिक भेरियन्टमा ३० किलोवाट आवरको ब्याट्री छ भने प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री छ ।

५. डोङफेङ नामी–०१

नामी ह्याचब्याक कार पनि कम मूल्यमै राम्रो रेन्ज चाहने ग्राहकका लागि एक उत्कृष्ट विकल्प हो । यसको टप भेरियन्ट ई–थ्रीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले यस मूल्यमा पनि विभिन्न आकर्षक अफरहरू दिइरहेको छ । यसमा ४९ किलोवाटको मोटर र ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ, जसले ३१७ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

६. टाटा पन्च ईभी

उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध छ । यसको मिड रेन्ज (एमआर) को टप भेरियन्ट इम्पावर्ड प्लस एस को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ छ । त्यस्तै, लङ रेन्ज (एलआर) को इम्पावर्ड भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ छ भने टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ । यसमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) का दुई भिन्न ब्याट्री प्याकहरू छन् ।

नेपालको विभिन्न भूभागमा गरिएको परीक्षणमा यसले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज दिएको कम्पनीको दाबी छ । कम्पनीले यस गाडीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी पनि दिएको छ । कम बजेटका तर राम्रो पर्फमेन्स, रेन्ज र आधुनिक फिचरहरू भएको गाडी खोज्नेहरूलाई यी गाडीहरू उपयुक्त हुन सक्नेछ ।

Logo