काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा चितवन जिल्लाको सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला चितवन उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
करिब ७० जनाको सहभागिता रहेको कार्यक्रमको शुरुवातमा नासा नेपालका परियोजना तथा वैदेशिक मामिला संयोजक सुवास भट्टराई र प्रशासन तथा मोबिलिटी व्यवस्थापक किरण धितालले संस्थाद्वारा भरतपुर महानगर पालिका क्षेत्रमा सम्पन्न गरिएको सार्वजनिक यातायात सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उक्त प्रतिवदेनमा राय तथा सुझाव संकलन गरेका थिए । त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्री राज शर्माले ट्राफिक नियम, कानुन तथा चितवन जिल्लामा सार्वजनिक यातायातको वर्तमान अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन जिल्लामा सञ्चालित सार्वजनिक यातायात समिति, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग वाणिज्य संघ, बागमती प्रदेश अटोमोबाइल्स संघ र भरतपुर महानगरपालिकाका प्रतिनिधि, उद्योग व्यवसायी, सार्वजनिक सवारी चालक, सहचालक, युवा र विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमा सार्वजनिक यातायात समितिका पदाधिकारी तथा प्रतिनिधि मित्रराज केसी, चिनी बहादुर बोहोरा, कृष्ण प्रसाद लम्साल, कृष्ण प्रसाद खनाल लगायतले जिल्लाको सार्वजनिक यातायात क्षेत्रका विद्यमान चुनौती, समस्या तथा सुधारका सम्भावनाहरूबारे आफ्नो धारणा राख्दै सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए ।
त्यस्तै, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले स्मार्ट सार्वजनिक यातायात प्रणाली कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षबीच आपसी सहकार्य र समन्वय अनिवार्य हुनेपर्नेमा जोड दिए ।
कार्यक्रमको समापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले सार्वजनिक यातायातको क्षेत्र सुधार गर्न उद्योग वाणिज्य संघले आवश्यक संयोजन गर्ने प्रतिवद्धता व्यक्त गरे भने कार्यक्रम संयोजक सुबास भट्टराईले नासा नेपालले कार्यशालाबाट प्राप्त सुझाव तथा मागहरू औपचारिक रूपमा सम्बन्धित सरकारी निकायलाई पेश गर्दै यसको कार्यान्वयन पक्षको निरन्तर समिक्षा गर्ने बताए ।





























प्रतिक्रिया