‘नाडा अटो शो, २०२५’ भव्य रुपमा सम्पन्न, एक लाख ६० हजारभन्दा बढीले अवलोकन गरेको अध्यक्ष चौधरीको दाबी

‘नाडा अटो शो, २०२५’ भव्य रुपमा सम्पन्न, एक लाख ६० हजारभन्दा बढीले अवलोकन गरेको अध्यक्ष चौधरीको दाबी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शो, २०२५ भव्य रुपमा सम्पन्न भएको छ ।

भदौ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सुरु भएको नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला आज आइतबार सकिएको हो ।

यसपटकको नाडा अटो शो भव्यरूपमा सफल भएको नाडाका अध्यक्ष करण चौधरीले दाबी गरे । यो ऐतिहासिक शोमा एकलाख ६० हजार बढी दर्शकले अवलोकन गरेको उनको भनाइ छ ।

“नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका यी उपलब्धिहरूलाई एउटा शुभारम्भको रूपमा लिएको छु । यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,” अध्यक्ष चौधरीले भने ।

समापन समारोहलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सम्बोधन गरेका थिए । उनले नाडाले गरेको नीतिगत विषयलाई आफूले पनि मन्त्रिपरिषद्‌मा उठाउने आश्वासन दिए । नेपालमा प्रत्येक वर्ष हजारौं मानिसको सडक दुर्घटना हुने गरेको र त्यसलाई सडक सुरक्षाका बारेमा प्रभावकारी बनाउनु पर्नेमा उनको जोड थियो ।

यसपटकको अटो शोमा ‘उड्ने ट्याक्सी’ र उन्नत चारंपग्रे रोबोटले उत्साहित बनायो । चिनियाँ अटोमेकर कम्पनी ‘चांगान–इहाङ’को संयुक्त उत्पादन रहेको यो इलेक्ट्रिक भर्टिकल टेकअफ एन्ड ल्याण्डिङ (इ–भिटिओएल) सवारीले नेपालमा हवाई यातायातको नयाँ सम्भावनाको ढोका खोलेको छ । १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डहरूले आफ्ना उत्पादन प्रदर्शन थिए ।

अटो शोको अर्को विशेष आकर्षणका रूपमा विन्टेज मोटर शो पनि प्रस्तुत गरिएको थियो ।

Logo