नेपालमा एक्सपेङ एक्स-नाइन : लग्जरी, टेक्नोलोजी र आरामको नयाँ परिभाषा

नेपालमा एक्सपेङ एक्स-नाइन : लग्जरी, टेक्नोलोजी र आरामको नयाँ परिभाषा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपालको प्रिमियम इलेक्ट्रिक भेइकल (ईभी) बजारमा फेरि एउटा नयाँ र आकर्षक मोडल भित्रिएको छ। चिनियाँ अटो कम्पनी एक्सपेङको अत्याधुनिक लग्जरी एमपीभी एक्स-नाइन नेपालमा आधिकारिक रूपमा बिक्रीमा आएसँगै प्रिमियम र लग्जरी गाडीमा नयाँ विकल्प थपिएको छ । नेपालका लागि एक्सपेङको आधिकारिक वितरक सीजी मोटर्सले यो मोडललाई ‘नाडा अटो शो २०२५’ बाट सार्वजनिक गर्दै बिक्री सुरु गरेको थियो। कम्पनीले यसको मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ।

एक्सपेङ एक्स-नाइनलाई कम्पनीले नवीनतम ८०० भोल्ट इलेक्ट्रिक आर्किटेक्चरमा विकास गरेको छ। यसले यसलाई उच्च चार्जिङ क्षमता र दक्ष प्रदर्शनमा अग्रणी बनाएको छ। कारले ३३० किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ।जसले छोटो समयमा नै लामो दूरी तय गर्न सक्ने स्तरको ऊर्जा पुनःभरण गर्न सकिन्छ।

यसमा २३५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर जडान गरिएको छ। मोटरसँग संयोजनमा रहेको ८४.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्रीले यसलाई मजबुत ऊर्जा आपूर्ति गर्छ। कम्पनीका अनुसार एक्स-नाइनले डब्ल्यूएलटीपी मापदण्डअनुसार ४८० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

एक्सपेङ एक्स-नाइनले आकारमै पनि आफ्नो प्रिमियम पहिचान झल्काउँछ। यसको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम रहेको छ। यसको अग्लो, चौडा र एरोडाइनामिक डिजाइनले यसलाई सडकमा आकर्षणको केन्द्र बनाउँछ।

टेक्नोलोजीका हिसाबले पनि यो एमपीभी समयभन्दा अघि रहेको छ। एक्स-नाइनमा कम्पनीले विशेष ‘हक आई’ एडास सिस्टम दिएको छ, जसमा अन्य गाडीमा देखिने जटिल लाइडार सेन्सरको आवश्यकता पर्दैन। यो सिस्टमले ड्राइभरलाई स्मार्ट असिस्ट सुविधा दिँदै सुरक्षा र सहजता बढाउँछ।

एक्सपेङ एक्स-नाइन केवल टेक्नोलोजीमै होइन, आरामको स्तरमा पनि अग्रणी छ। यसको सीट डिजाइनलाई कम्पनीले ‘जिरो ग्राभिटी’ कन्सेप्टअनुसार तयार पारेको छ, जसले यात्रुलाई लामो यात्रामा समेत पूर्ण आराम प्रदान गर्छ।

यात्रुको सुविधा अझ बढाउन कम्पनीले विशेष ‘सिक्स डी एआई एन्टी मोसन सिक्नेस’ सस्पेन्सन सिस्टम जडान गरेको छ। यसमा अगाडि डबल विसबोन र पछाडि मल्टिलिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको छ। यी दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ प्रणाली रहेको छ, जसले आवश्यकता अनुसार गाडीको उचाइलाई ९० एमएमसम्म बढाउन सकिन्छ।

क्याबिनभित्र प्रवेश गर्ने बित्तिकै यात्रुले अनुभव गर्ने कुरा भनेको यसको भविष्यवादी लक्जरी इन्टेरियर हो। यात्रुको मनोरञ्जनका लागि २१.४ इन्चको सिलिङ माउन्टेड थ्रीके रेजोलुसन डिस्प्ले उपलब्ध छ । जुन विशेष गरी पछाडिका यात्रुका लागि आकर्षक बनाइएको छ।

त्यस्तै, प्यानोरामिक सनरुफले सम्पूर्ण क्याबिनमा प्राकृतिक प्रकाश भर्न मद्दत गर्छ भने अगाडिका सिटमा सिटब्याक माउन्टेड कन्ट्रोल प्यानल दिइएको छ, जसले यात्रुले सजिलै विभिन्न सुविधामा पहुँच पाउँछन्।

नेपालमा ईभी बजार तीव्र गतिमा विस्तार भइरहेको छ। यतिबेला कम्प्याक्ट एसयूभीदेखि प्रिमियम सेडानसम्मका मोडल उपलब्ध भए पनि लक्जरी एमपीभी सेग्मेन्ट भने निकै सीमित थियो। त्यही खाली ठाउँलाई लक्षित गर्दै एक्सपेङ एक्स-नाइन नेपाल भित्रिएको छ।

सीजी मोटर्सका अनुसार, यो मोडलले लक्जरी, प्रिमियम यात्रा अनुभव र उच्चतम प्रविधि चाहने ग्राहकलाई लक्षित गरेको छ। यसको दाम उच्च भए पनि यसले दिने आराम, शैली र टेक्नोलोजीले नेपाली उच्च–स्तरका ग्राहकलाई नयाँ विकल्प प्रदान गर्ने विश्वास लिइएको छ।

यसको भविष्यवादी डिजाइन, स्मार्ट फिचर, उच्च प्रदर्शन र प्रिमियम यात्रा अनुभवले यसलाई केवल गाडी नभई आधुनिक जीवनशैलीको प्रतीक बनाउँछ। नेपालमा यसको उपस्थितिले लग्जरी इलेक्ट्रिक एमपीभीको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo