काठमाडौं । चिनियाँ कमर्सियल भेहिकल ब्रान्ड सनलङका दुई नयाँ इलेक्ट्रिक माइक्रोभ्यान नेपाली बजारमा भित्रिएका छन्। चीनको कमर्सियल भेहिकल सेग्मेन्टमा विश्वसनीय नाम मानिएको सनलङको आधिकारिक नेपाली पार्टनर वेबर ग्रुपअन्तर्गतको ब्लू कर्पोरेसन प्रालिले यी भ्यानलाई नेपाली बजारमा भित्रिएको हो। कम्पनीले ल्याउने मोडेलहरू यू वान र यू टु हुन्, जसमा क्रमशः १२ र १३ सिटको क्षमता रहेको छ।
सनलङ यू वान र यू टु दुवै माइक्रोभ्यान विद्युतीय शक्तिमा आधारित छन्, जसले वातावरणमैत्री यात्रा मात्र होइन, व्यावसायिक उपयोगका लागि पनि नयाँ सम्भावना देखाएका छन्। कम्पनीका अनुसार यू वानमा ४६.३६ किलोवाट घण्टा क्षमताको ब्याट्री प्याक रहेको छ भने यू टु मा ५०.२३ किलोवाट घण्टाको ब्याट्री प्याक जडान गरिएको छ। यी दुवै मोडेलमा ८० किलोवाट क्षमताको मोटर प्रयोग भएको छ, जसले पर्याप्त पावर दिनुका साथै लामो दायरा (रेन्ज) सुनिश्चित गर्दछ। यू वानले एकपटकको चार्जमा ३२५ किलोमिटरसम्म चल्न सक्छ भने यू टु को दायरा ३५० किलोमिटर रहेको छ, जुन नेपालजस्ता विविध भौगोलिक अवस्थाका लागि पर्याप्त मानिन्छ।
यात्रुहरूलाई सुविधा र चालकलाई सहजतामा ध्यान दिँदै यी माइक्रोभ्यानमा आधुनिक फिचर समावेश गरिएको छ। १५ इन्चका ह्वील र १८० एमएमको ग्राउण्ड क्लियरेन्सले असमान सडकमा पनि स्थिर यात्रा सुनिश्चित गर्छ। भित्रतर्फ एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ पोर्ट, एयर कन्डिसन, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा, र फ्रन्ट पावर विन्डो जस्ता सुविधा उपलब्ध छन्, जसले व्यावसायिक सवारीलाई पनि प्रिमियम अनुभव दिन सफल बनाउँछ।
सुरक्षामा पनि कम्पनीले विशेष प्राथमिकता दिएको छ। एबीएस, ईबीडी , ईपीएस, ईएससी लगायत ब्रेक असिस्ट सिस्टमले चालकलाई नियन्त्रणमा मद्दत गर्छ भने फ्रन्ट डिस्क र रियर ड्रम ब्रेकिङ सिस्टमले अझ प्रभावकारी ब्रेकिङ प्रदर्शन गर्छ। त्यस्तै, सिटबेल्ट वार्निङ सिस्टमले यात्रुको सुरक्षामा थप ध्यान दिएको छ। यी सबै सुविधाले सनलङका इलेक्ट्रिक भ्यानलाई सुरक्षित मात्र होइन, दीर्घकालीन सञ्चालनका लागि पनि उपयुक्त बनाउँछन्।
चार्जिङ सुविधामा पनि ब्लू कर्पोरेसनले व्यावहारिक समाधान प्रस्तुत गरेको छ। कम्पनीका अनुसार हरेक भ्यान खरिदसँगै ३.३ किलोवाटको पोर्टेबल चार्जर र ६.६ किलोवाटको वाल माउन्टेड चार्जर उपलब्ध गराइनेछ। यसले ग्राहकलाई घर वा अफिसमै सजिलै चार्ज गर्न सक्ने सुविधा दिनेछ, जसले दैनिक सञ्चालनलाई झन् सहज बनाउनेछ।
मूल्यका हिसाबले पनि यी इलेक्ट्रिक माइक्रोभ्यानहरू व्यावसायिक सवारीको खण्डमा प्रतिस्पर्धात्मक दरमा उपलब्ध हुनेछन्। कम्पनीले १२ सिटे सनलङ यू वानको मूल्य ४७ लाख ४७ हजार रुपैयाँ तोकेको छ भने १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ रहेको छ। यो मूल्य दायरा नेपालमा सञ्चालनमा रहेका डिजेल वा पेट्रोल माइक्रोभ्यानहरूसँग तुलना गर्दा किफायती मात्र होइन, दीर्घकालीन रूपमा इन्धन खर्चमा हुने बचतलाई समेत विचार गर्दा थप लाभदायी देखिन्छ।
नेपालमा बढ्दो हरित ऊर्जा र विद्युतीय सवारीप्रतिको आकर्षणसँगै सनलङका यी नयाँ इलेक्ट्रिक माइक्रोभ्यानले व्यावसायिक यातायात क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। मोबिलिटी एक्स्पोमार्फत सार्वजनिक हुने यी मोडेलहरूले केवल नयाँ प्रविधि प्रस्तुत गर्ने मात्र होइन, दीगो यातायात प्रणालीतर्फको यात्रामा पनि महत्वपूर्ण योगदान दिनेछन्।





























प्रतिक्रिया