काठमाडौं । नेपालमा स्काईवर्थले व्यावसायिक र बहुउपयोगी इलेक्ट्रिक भ्यान ईभी–डी११ भित्र्याएको छ। यात्रु र लगेज दुवै ढुवानीमा उपयुक्त हुने गरी डिजाइन गरिएको यो मोडेलले व्यावसायिक प्रयोगकर्तादेखि निजी प्रयोगकर्तासम्मका लागि नयाँ विकल्प प्रस्तुत गरेको छ।
१९ सिट क्षमताको यस इलेक्ट्रिक भ्यानलाई खासगरी स्कुल–कलेज, टुर एण्ड ट्राभल्स कम्पनी, कार्यालय कर्मचारी ढुवानी, होटल–रिसोर्ट ट्रान्सपोर्टेसन, साथै ठूलो परिवारका लागि लक्षित गरिएको छ। यसले एकैपटक धेरै यात्रुलाई सहज र सुरक्षित तरिकाले यात्रा गराउन सक्छ।
यसको सबैभन्दा ठूलो आकर्षण भनेको फराकिलो र अग्लो भित्री भाग हो। यात्रुहरूलाई पर्याप्त लेग–रुम र आरामदायी बसाइको अनुभव दिने गरी सिट राखिएको छ। लामो दूरीको यात्रामा पनि थकाइ कम हुने गरी सीट डिजाइन गरिएकोले यात्रुहरूको अनुभव थप सहज हुन्छ।
शक्तिशाली ब्याट्रीले करिब ३०० किलोमिटरको रेन्ज दिन्छ। यस्तो रेन्जले यसलाई काठमाडौं उपत्यकाभित्र मात्र नभई पोखरा, चितवन वा मध्यम दूरीका अन्य मार्गमा पनि सहजै प्रयोग गर्न मिल्ने बनाउँछ। डिसी फास्ट–चार्जिङ प्रविधिले यसलाई छोटो समयमा चार्ज गर्न सकिन्छ, जसले व्यवसायिक प्रयोगमा समय बचत गराउँछ।
यसमा मेटल फ्रेम र २२० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ, जसले नेपालका असमान सडकमा पनि सजिलै गुडाउन मद्दत गर्छ। खाल्डाखुल्डी वा उचालपिचाल भएका बाटोमा पनि यात्रुलाई सहज अनुभव हुने गरी सस्पेन्सन प्रणाली जडान गरिएको छ।
डिजाइनतर्फ, यसमा एरोडाइनामिक लुक, डिजिटल ड्यासबोर्ड, टच–स्क्रिन कन्ट्रोल सिस्टम, एयर–कन्डिसनिङ र हीटर, साथै ड्राइभरका लागि पावर–स्टेयरिङ, रिभर्स क्यामेरा र पार्किङ सेन्सरसमेत उपलब्ध छन्। यसले यसलाई आधुनिक र प्रयोगमैत्री बनाएको छ।
नेपालमा यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार, ईभी–डी११ ले व्यवसायिक तथा निजी दुवै क्षेत्रमा वातावरणमैत्री र लागत–मैत्री यातायात समाधान दिनेछ।





























प्रतिक्रिया