काठमाडौं । नेपालमा किटोनले व्यावसायिक र निजी दुवै प्रयोजनका लागि उपयुक्त एम–७० इलेक्ट्रिक भ्यान भित्र्याएको छ। सानो आकार तर पर्याप्त लोड स्पेस भएकोले यो भ्यानलाई गाउँदेखि सहरसम्म विभिन्न यातायात आवश्यकतामा सहजै प्रयोग गर्न सकिन्छ।
७ सिट क्षमताको यो मोडेल विशेषगरी स्कुल–कलेज, कार्यालय कर्मचारी ढुवानी, होम–डेलिभरी सेवा, सानो व्यवसायिक ढुवानी, टुर एण्ड ट्राभल्स जस्ता क्षेत्रमा उपयुक्त हुने गरी डिजाइन गरिएको छ। सिट फोल्ड गर्न मिल्ने भएकाले यात्रु र सामान दुवैका लागि उपयोगी हुन्छ।
यसको सबैभन्दा ठूलो विशेषता भनेको छोटो घुम्तीमा सजिलै मोडिन सक्ने क्षमता हो। भिडभाड भएको शहरका सडकमा वा साँघुरा गल्लीमा चलाउँदा सहज हुने भएकाले यसले साना व्यवसायी तथा शैक्षिक संस्थाहरूलाई निकै फाइदा पुर्याउने अपेक्षा गरिएको छ।
नेपालका उकालो–ओरालो र असमान सडकलाई ध्यानमा राखी यसमा मजबुत चेसिस, भरपर्दो सस्पेन्सन र पर्याप्त ग्राउन्ड क्लियरेन्स दिइएको छ। जसका कारण ग्रामीण क्षेत्रमा समेत यसलाई सजिलै सञ्चालन गर्न सकिन्छ।
ड्राइभरका लागि पावर–स्टेयरिङ, डिजिटल ड्यासबोर्ड, एयर–कन्डिसनिङ, रिभर्स क्यामेरा र सेफ्टी फिचरहरू उपलब्ध छन्। यात्रुका लागि पर्याप्त लेग–स्पेस र आरामदायी सिट दिइएको छ, जसले लामो दूरीको यात्रा सहज बनाउँछ।
सानो आकार भए पनि यसमा शक्तिशाली ब्याट्री राखिएको छ, जसले दैनिक यात्रु ढुवानी र सामान पुर्याउने आवश्यकतामा पर्याप्त रेन्ज प्रदान गर्छ। यसमा फास्ट–चार्जिङको सुविधा उपलब्ध भएकाले व्यावसायिक प्रयोगकर्ताले छोटो समयमा चार्ज गरेर लामो समय सञ्चालन गर्न सक्नेछन्।
नेपालमा यसको मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ। प्रतिस्पर्धी मूल्य र प्रयोगमैत्री सुविधाका कारण किटोन एम–७० साना व्यवसायी, शैक्षिक संस्था, डेलिभरी कम्पनी र परिवार दुवैका लागि आकर्षक विकल्प बन्न सक्ने कम्पनीको विश्वास छ।





























प्रतिक्रिया