काठमाडौं । पद्य ज्योति ग्रुप अफ कम्पनीजका अध्यक्ष सौरभ ज्योतिले नेपालमा विद्युतीय सवारी (ईभी) को विस्तारमा पूर्वाधार विकास, सस्टेनेबिलिटी र सुरक्षालाई अबका प्रमुख चुनौतीका रूपमा औंल्याएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक आइतबार ललितपुरस्थित द प्लाजामा भएकाे ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’का अवसरमा उनले यस्ताे बताएका हुन् ।
उनका अनुसार नेपालमा ईभीको यो सफलता मुख्यतया यात्रुवाहक (प्यासेन्जर) सवारी साधनमा मात्र सीमित छ । सार्वजनिक यातायातमा ईभीको प्रयोग २० प्रतिशतसम्म पुर्याउने लक्ष्य अझै पूरा हुन सकेको छैन। “चारपाङ्ग्रे गाडी चलाउन सक्ने करिब ५ प्रतिशत जनसंख्याले मात्रै ईभी किन्न सक्छन्,” उनले भने। सर्वसाधारणको पहुँचमा नआउँदासम्म सुरक्षित र स्वच्छ यातायातको लक्ष्य पूरा नहुने उनको भनाइ थियो।
नेपालमा ईभीको प्रयोग ७३ प्रतिशत पुगेको र यसले नेपाललाई विश्वमा तेस्रो स्थानमा ल्याएकोमा उनले सरकारको प्रशंसा गर्दै पूर्वाधार र सुरक्षा भने पर्याप्त नभएकाे औंल्याएका छन् ।
अध्यक्ष ज्योतिले पूर्वाधार विकास, सस्टेनेबिलिटी र सुरक्षालाई अबका प्रमुख चुनौतीका रूपमा औंल्याए । उनले ब्याट्री रिसाइक्लिङ र डिस्पोजलको दीर्घकालीन योजना नभएकोमा चिन्ता व्यक्त गरे । यस्तै, सडक सुरक्षाको विषयमा पनि उनले जोड दिए। नेपालमा लाखौं मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेको अवस्थामा भेइकल सेफ्टी र ग्लोबल एनक्याप जस्ता मापदण्डको आवश्यकता औंल्याए । “सवारी परीक्षण केन्द्र (भेइकल टेस्टिङ सेन्टर) को कुरा दशकौंदेखि चल्दै आए पनि टेकुमा एउटा नमूना मात्र छ, त्यसले गति लिन सकेको छैन,” उनले भने।
२० वर्ष पुराना गाडी विस्थापनको नीतिमा प्रश्न
२० वर्ष पुराना गाडी विस्थापन गर्ने सरकारको नीतिको प्रशंसा गर्दै उनले यसको तार्किक पक्षमा भने प्रश्न उठाए । यदि कुनै गाडी राम्रोसँग मर्मतसम्भार गरिएको छ र यसका पार्टपुर्जाहरू ठीक छन् भने त्यो ५ वर्ष पुरानो गाडीभन्दा पनि राम्रो हुन सक्ने उनको तर्क थियो ।
अध्यक्ष ज्योतिले ईभीलाई मात्रै क्लिन इनर्जी भेइकलका रूपमा हेर्न नहुने बताए। ” गत वर्ष मात्रै पेट्रोलियम पदार्थको आयातमा झन्डै ६५ अर्ब बाहिरिएको छ । ईभीले प्रदूषण कम गर्नुका साथै पेट्रोलियम पदार्थ आयातमा खर्च हुने विदेशी मुद्रा बचाउँछ, तर हाइड्रोजन फ्युल सेल, सोलार र हाइब्रिड भेइकल पनि क्लिन इनर्जी भेइकल हुन्,” उनले भने। यसबारे पनि छलफल हुनुपर्नेमा उनले जोड दिए।
उनले सरकारको कर नीतिमाथि पनि टिप्पणी गरे । “कहिलेकाहीँ चुचुरो चढ्दा क्याम्पबाट तल पनि झर्नुपर्छ, नत्र ज्यान जोखिममा हुन्छ,” भन्ने भनाइ उद्धृत गर्दै उनले कर सधैं बढाउनै पर्छ भन्ने मान्यतामा पुनर्विचार गर्नुपर्ने बताए। ईभीमा कर यथावत् रहे पनि इन्टरनल कम्बस्चन इन्जिन (आईसिई) र अन्यमा कर घटाएमा यस क्षेत्रको योगदानको कदर हुने उनको भनाइ थियो।
‘इन्धनको आयातमा हाम्रो धेरै विदेशी मुद्रा बाहिरिएको छ । २००३ मा ई१० को पोलिसी आएको र १५ डिसेम्बर २००३ मा बजेट निकालेर ईभी र प्रदूषण न्यून गर्ने । तर २०२५ सम्म पनि त्यो बजेट कार्यान्वयन भएको छैन । विभिन्न तरिकाले ई२० मा जान सकिने अवस्था छ । यसले समग्र राज्य र उपभोक्तालाई फाइदा हुनेछ ।’ उनले भने ।































प्रतिक्रिया