नबिल बैंकले विद्युतीय सवारीसाधनमा ८ अर्ब लगानी गरिसक्याेः सीईओ मनोज ज्ञवाली

नबिल बैंकले विद्युतीय सवारीसाधनमा ८ अर्ब लगानी गरिसक्याेः सीईओ मनोज ज्ञवाली

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बैंकले हालसम्म ३,१०० वटा विद्युतीय सवारीसाधनमा करिब ८ अर्ब रुपैयाँ लगानी गरिसकेको जानकारी दिएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’ मा उनले बैंकहरूले रिटेल कर्जामा लगानी नगर्ने नीति अपनाए पनि अटो लोनमा डिफल्ट दर कम रहेको बताएका हुन् ।

सीईओ ज्ञवालीका अनुसार नेपाल राष्ट्र बैंकको सर्कुलरले उपभोग्य कर्जालाई निरुत्साहित गरे पनि अटोमोबाइल कर्जामा डिफल्ट रेट निकै कम छ। विशेषगरी, व्यक्तिगत प्रयोजनका लागि लिइएको अटो लोनमा डिफल्ट दर न्यून रहेको र व्यावसायिक सवारीसाधनमा मात्र केही समस्या देखिएको उनले बताए ।

“अटोमोबाइल क्षेत्रमा भएको लगानीले अर्थतन्त्रलाई फाइदा गर्दैन भन्ने धारणालाई हामीले गलत साबित गरेका छौँ,” ज्ञवालीले भने, “अटोमोबाइल लोनमा डिफल्ट रेट कम हुनुले यो क्षेत्र सुरक्षित लगानीको माध्यम हो भन्ने देखाउँछ।”

उनले विद्युतीय सवारीसाधनको सञ्चालन खर्चको तुलनात्मक विश्लेषण पनि प्रस्तुत गरे । उनका अनुसार, विद्युतीय स्कुटरमा प्रति किलोमिटर ४० देखि ५० पैसा मात्र खर्च लाग्छ भने विद्युतीय गाडीमा प्रति किलोमिटर १.५० देखि २.५० रुपैयाँसम्म खर्च लाग्ने गरेको छ। यो खर्च पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको तुलनामा निकै कम रहेको उनको भनाइ थियो।

Logo