काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा युवा व्यवसायी करण चौधरीले राष्ट्रको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देशको भविष्य उज्ज्वल बनाउन सबै नागरिकले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए ।
जेनजी आन्दाेलनपछि अध्यक्ष चौधरीले विगतका पीडादायी क्षणहरूलाई पछाडि छोडेर वर्तमानमा केन्द्रित हुन आह्वान गरे । “गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ,” उनले भने, “त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ।”
उनले देशलाई नयाँ उचाइमा पुऱ्याउने अवसर अहिले नै आएको बताए । “यो हाम्रो क्षण हो,” उनले भने, “आउनुहोस्, हामी सबैले वाचा गरौँ, सचेत नागरिक बन्ने, अनुशासनलाई आफ्नो धर्म ठान्ने, र मातृभूमिको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने।”
चौधरीले हरेक दिन, हरेक काममा आफ्नो शतप्रतिशत योगदान दिनु हरेक नागरिकको दायित्व भएकोमा जोड दिए । उनले भावात्मक हुँदै भने, “म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ।”
उनले नेपाललाई केवल महान् मात्र नभई विश्वसामु झन् उज्यालो र गौरवशाली बनाउने वाचा गरेका छन् । “यो देशले हामीलाई सबैथोक दिएको छ। अब हाम्रो पालो हो,” उनले भने, “हामी सबै मिलेर नेपाललाई अगाडि बढाउनेछौँ।”





























प्रतिक्रिया