काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारलाई आवश्यक सहयोग र सहजीकरणका लागि आह्वान गरेको छ ।
हालै देशभर भएको आन्दोलन र प्रदर्शनले मुलुकमा पारेको गहिरो प्रभावप्रति दुःख व्यक्त गर्दै नाडाले नेपालको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला मानिने अटोमोबाइल क्षेत्रमा हालका घटनाक्रमले प्रत्यक्ष असर पारेको जनाएको छ।
यसले कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षामा समेत चिन्ता बढाएको छ।
नाडाका अनुसार, वर्तमान अवस्थाले उपभोक्ताको विश्वासमा नकारात्मक असर पुगेको छ र यसले दीर्घकालीन रूपमा लगानी र रोजगारीमा समेत चुनौती थपिएको छ। शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट हरेक जटिल समस्याको समाधान खोज्न सकिन्छ भन्ने कुरामा नाडाको गहिरो विश्वास रहेको छ।
यसैगरी नाडाले आफ्ना सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेको छ। एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास पनि नाडाले व्यक्त गरेको छ।
नेपालले इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएकोमा खुसी व्यक्त गर्दै नाडाले छिट्टै मन्त्रिपरिषद् गठन हुने र यस सरकारले आउँदो ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न सरकार सफल हुनेछ भन्ने विश्वासका साथ शुभकामना पनि व्यक्त गरेको छ।































प्रतिक्रिया