कोरला नाकाबाट ठूलो संख्यामा भित्रिए ईभी, अस्थायी चार्जिङ स्टेसन निर्माण गरिने

कोरला नाकाबाट ठूलो संख्यामा भित्रिए ईभी, अस्थायी चार्जिङ स्टेसन निर्माण गरिने

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । यतिबेला दशैँको रौनक छ । यो बेला बिभिन्न नाका पनि सञ्चालनमा आएका छन् । रसुवा र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि वैकल्पिक रूपमा मुस्ताङस्थित कोरला नाका सञ्चालनमा आएको छ। सोमबार देखि सञ्चालनमा आएको यो नाकाबाट पहिलोपटक ठूलो संख्यामा विद्युतीय गाडी नेपाल भित्रिएका छन्।

न्हेचुङ भन्सार कार्यालयका अनुसार हाल १५१ वटा ईभी भन्सार जाँचपासको प्रतीक्षामा छन्। तीमध्ये अधिकांश बीवाईडी र ओमोडा ब्रान्डका गाडी रहेका छन्। नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक र ओमोडा–जेकोको एसपीजी अटोमोबाइल्सले यी गाडी आयात गरेका हुन्।

भन्सार प्रमुख रमेश खड्काले भन्सार घोषणा र बैंकमा रकम बुझाइसकिएपछि मात्र गाडी जाँचपास हुने स्पष्ट पारे। गाडी आयात भए पनि तत्कालको चुनौती भने चार्जिङ सुविधा रहेको बताइन्छ। कोरला हुँदै आएका गाडी सिधै शोरुमसम्म चलाउन सक्ने अवस्था नभएकाले व्यवसायीले अस्थायी चार्जिङ स्टेसन निर्माणको तयारी थालेका छन्।

ईभीसँगै लत्ता कपडा, इलेक्ट्रोनिक्स, कस्मेटिकसहित ६७ वटा कन्टेनर पनि नेपाल भित्रिएका छन्। यी कन्टेनर न्हेचुङ भन्सारमा रोकिएका छन् भने ७०–८० वटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै आइपुगेका छन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार करिब ५०० भन्दा बढी बीवाईडी गाडी यस नाकाबाट आयात हुने अनुमान छ। आठ दिनअघि मात्रै खोलिएको कोरला नाकाबाट हालसम्म १०० भन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।

यसअघि रसुवागढी वा तातोपानी हुँदै ल्याउने तयारी भए पनि बाढी–पहिरोका कारण नाका अवरुद्ध भएपछि कोरलालाई वैकल्पिक मार्ग बनाइएको हो। राजधानीबाट दूरी टाढा भए पनि चाडपर्वको समयमा अत्यावश्यक सामग्री अभाव हुन नदिन सरकारले यो नाका सञ्चालनमा ल्याएको हो।

यसैबीच, जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको चराङमा नयाँ चार्जिङ स्टेसन स्थापना गरिएको छ। चार्जिङ स्टेसनको उद्घाटन दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गरेका हुन्। उनले यसले उपल्लो मुस्ताङ र कोरलानाका पुग्ने विद्युतीय सवारीसाधनका लागि ठूलो सहजता ल्याउने बताए।

Logo