काठमाडौं । नेपालमा जलविद्युतको विकासलाई थप गति दिँदै लक्ष्मी सनराइज बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.सँग ७० मेगावाटको दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्।
सोलुखुम्बु जिल्लामा निर्माण हुने यस अर्धजलाशययुक्त आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको छ। यो लगानी सम्झौताले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात १० अर्ब ५० करोड रुपैयाँ बैंकहरूको सहवित्तीयकरणबाट जुटाइनेछ। बाँकी ३० प्रतिशत लगानी प्रवद्र्धकहरूले गर्नेछन्।
सम्झौताअनुसार, लक्ष्मी सनराइज बैंकले अगुवा बैंकको भूमिका निभाएको छ भने एभरेष्ट बैंक सह-अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रूपमा रहेका छन्।
दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनाले २०७७ असोज ७ गते नै विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति पाइसकेको थियो। साथै, २०७८ मंसिर ६ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद-बिक्री सम्झौता पनि गरिसकेको छ।
परियोजनाका मुख्य प्रवद्र्धकहरूमा आयु मलुन हाइड्रोपावर लि., कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटलहरू रहेका छन्।
सन् २०२९ जुलाईभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाबाट वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी उत्पादन हुने अनुमान गरिएको छ।





























प्रतिक्रिया