विन्ध्यवासिनी मन्दिरको नवदुर्गा महोत्सवमा ४१ लाखबढी भेटी सङ्कलन

विन्ध्यवासिनी मन्दिरको नवदुर्गा महोत्सवमा ४१ लाखबढी भेटी सङ्कलन

केन्द्रबिन्दु
0
Shares

गण्डकी। पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा आयोजना भएको नवदुर्गा महोत्सवमा रु ४१ लाख ७२ हजार भेटी तथा सहयोग सङ्कलन भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते (घटस्थापना) देखि १५ गते महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन गरिएको थियो ।

उक्त अवसरमा महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञसहित विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिएकामा उक्त अवधिभर नियमित पूजाआजा र महायज्ञमा गरी रु ४१ लाख ७२ हजार भेटी तथा आर्थिक सहयोग सङ्कलन भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए। उनका अनुसार विजयादशमीको पावन अवसरमा विसं २०६४ देखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आएको छ ।

महोत्सवका अवसरमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गरिँदै आइए पनि यस वर्ष गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा भने स्थगित गरिएको थियो ।

अढाइ शताब्दी अघिदेखि पूजाआजा हुँदै आएको मानिने यस मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको इतिहासमा उल्लेख छ । मन्दिरको संरक्षण विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विसं २०४३ मा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको थियो ।

समितिको गठनपश्चात् यस धार्मिक क्षेत्रमा भौतिक पूर्वाधारहरूको निर्माण, सौन्दर्यकरण, सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणसम्बन्धी कार्यहरू हुँदै आएका छन् । समितिले विन्ध्यवासिनी दर्शन गर्न पोखरा आउने श्रद्धालु भक्तजनहरूबाट प्राप्त भेटी तथा दान दातव्यलाई जनहितको कार्यमा प्रयोग गर्दै आएको छ ।

विभिन्न पर्व तथा उत्सवका पूजन धार्मिक आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न पर्वहरूका उपलक्ष्यमा मन्दिरमा विशेष पूजनोत्सव आयोजना गर्ने गरिएको छ ।

विशेषतः साउनमा शिव पूजनोत्सव, गणेश चौथीमा गणेश पूजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पूजनोत्सव, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जन्मोत्सव, रामनवमी, हनुमान् जयन्ती, शिवरात्रिमा विशेष कार्यक्रमहरू हुँदै आएका छन् ।

Logo