रामेछाप । रामेछापमा सामाजिक विकासको लागि काम गर्दै आएको सामुदायिक विकास समाज (सिडिएस) ले तीन वर्षमा जिल्लाका २ हजार ५ सय बढी युवालाई सिप प्रदान गरेको छ । सो संस्थाले व्यावसायिक तथा प्राविधिक सिप र कृषि तालिम मार्फत रोजगारी सिर्जना र उद्यमशीलता परियोजना मार्फत जिल्लाको मन्थली नगरपालिका तथा खाँडादेवी र सुनापति गाउँपालिकामा सञ्चालन गरेको कार्यक्रमबाट ती युवाहरूले सिप सिकेका हुन् ।
परियोजनाले सञ्चालन गरेको कृषि तालिमबाट १४ सय ८९ जना किसान लाभान्वित भएका परियोजनाका संयोजक उत्तम ढुङ्गानाले जानकारी दिए ।परियोजना अवधिमा सञ्चालन भएका ५२ वटा सिप विकास तालिमबाट एक हजार बढी युवा प्रशिक्षित भएका उनले बताए । प्राविधिक सिप विकास तालिम लिएकालाई सिटिइभिटीको स्किल जाँच परीक्षा समेत दिलाएको उनले जानकारी दिए । तालिम लिएकालाई व्यवसाय सञ्चालन गर्न उपकरणहरू समेत निःशुल्क उपलब्ध गराइएको उनले बताए ।
तालिम लिएका युवाहरूले ५२ वटा उद्यम सुरु गरेका र त्यसमा ६८ जना युवाहरू संलग्न रहेका उनले बताए । यसरी सिप सिकेर सिटिइभिटीको प्रमाणपत्र लिएका युवाहरूले विदेश जाँदा पनि राम्रो तलब सहितको रोजगारी पाउने गरेका उनले बताए ।
परियोजनाको वार्षिक समन्वय बैठकमा बोल्दै संस्थाका निर्देशक मिलन घिसिङले तालिम लिएका मध्ये १८ प्रतिशत युवाहरू कुनै काम नगरी बसेका बताए । परियोजनालाई स्थानीय सरकारसँग जोडेर त्यसलाई निरन्तरता दिने कुरा निक्कै चुनौतीपूर्ण रहेको घिसिङले सुनाए ।
कार्यक्रममा नागरिक संस्थाका प्रतिनिधिहरूले सामाजिक संस्थाले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर सञ्चालन गरेका परियोजनाहरू समाप्त भएपछि त्यसलाई स्थानीय तहले ग्रहण गरेर निरन्तरता दिनुपर्ने सुझाव राखे ।





























प्रतिक्रिया