तिहारको बेला फूलको चरम अभाव

तिहारको बेला फूलको चरम अभाव

केन्द्रबिन्दु
12
Shares

रामेछाप । रामेछापमा यस वर्षको तिहारमा फूलको चरम अभाव भएको छ । फूलको सिजन सुरु हुनु अघि नै तिहार आएको कारण जिल्लामा फूलको अभाव भएको हो ।

तिहारमा चाहिने सयपत्री र मखमली फूल कात्तिक १५ पछि मात्र फुल्ने भएको कारण अहिले किसानले बारीमा लगाएको फूल फुलेकै छैन । अझ बेसिजनको वर्षाको कारण धेरैले लगाएको सयपत्री फूल खुइलिएर गएको गुनासो छ ।

व्यावसायिक रूपमा अघिल्लो वर्ष लगाएको फूलले बजार नपाएको कारण पनि यस वर्ष व्यावसायिक किसानहरूले जिल्लामा व्यावसायिक रूपमा मखमली फूलको खेती गरेनन् । त्यसले गर्दा पनि मन्थली लगायत बजार केन्द्रहरूमा फूलको चरम अभाव भएको छ । अघिल्लो वर्ष लगाएको सयपत्री फूल बिक्री नभएकाले यस वर्ष फूल नलगाएको मन्थली नगरपालिका–५ का किसान रामबहादुर साहीले बताए । ‘पोहोर साल बिक्री भएन, यस वर्ष बजारमा फूलको माग छ, तर खेती लगाइएन’, उनले भने ।

अहिले मन्थली बजारका उपभोक्ताले पूजा गर्ने फूल पाएका छैनन् । एक÷दुई ठाउँमा देखिने सयपत्री फूल पनि किनिसक्नु छैन । आठ/दश थुङ्गा फूललाई एक सय रुपैयाँ पर्ने उपभोक्ताहरूको गुनासो छ । सानो गुच्छा फूलको मूल्य समेत २ सय रुपैँया पर्ने र एउटा माला बनाउन कम्तीमा एक हजार रुपैँयाको फूल लाग्ने उपभोक्ताको गुनासो छ ।

फूलको अभावको कारण मानिसहरूले घरका ढोका र गेटमा समेत माला लगाउन सकेका छैनन् । जसले गर्दा कतिपयले प्लास्टिकका कृत्रिम माला लगाएका छन् । प्लास्टिकका फूल बिक्रीका लागि प्रतिबन्ध लगाएको भए पनि उपभोक्ताहरू फूल नपाउँदा प्लास्टिकका माला किन्न बाध्य छन् । बजारमा फूल अभाव भएको मौका छोपेर व्यापारीहरूले प्रतिबन्धित प्लास्टिकका मालाहरू महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।

Logo