मुस्ताङ । कुनै बेला यहाँका ९६ वटै गाउँ वस्तीहरुमा यहाँ उत्पादन हुने उवा,जौ,फापर,गहु,मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पिठो बनाउने ‘पानी घट्ट’ थिए । हिमाली पग्लेर बग्ने यहाँका जलसम्पदाको स्रोतबाट यहाँका अधिकाँश गाउँहरुमा परम्परागत ‘पानी घट्ट’ चलाइएको हुन्थ्यो ।
त्यससमयमा अहिलेको जस्तो विद्युतीय सुविधा नहुँदा त्यसबेलाको उपयुक्त प्रविधि भनेकै परम्परागत पानी घट्टे’ एक मात्र विकल्पको रुपमा थियो । तर, अचेल त्यो जमाना पुरै फेरिएको छ । पछिल्लो समय तीब्र गतिमा भैरहेको अत्याधुनिक प्रविधिको विकास र विद्युतीय पहुँचका कारण सदिंयौकालदेखि मुस्ताङमा प्रचलनको रुपमा रहेको परम्परागत ‘पानी घट्ट’ संस्कृति विस्तारै लोपोन्मुख हुने अवस्थामा रहेको छ ।
प्राचिन कालदेखिनै पिसानी गर्ने एक स्थानीय घरेलु प्रविधि माध्यमको रुपमा रहेको यसप्रकारको परम्परागत संस्कृतिको रुपमा परिचित ‘पानी घट्ट’संरक्षण गर्न समेत मुश्किल पर्ने देखिएको छ । हिमाली जिल्लामा रैथानेबालीलाई पिठो बनाउने सफा र उपयुक्त प्रविधिको रुपमा स्थापित बनेको परम्परागत ‘पानी घट्ट’अचेल प्रविधिको विकाससंगै मुस्ताङका अधिकाँश गाउँहरुमा हराउँदै जान थालेका छन् । यहाँका गाउँहरुमा पिसानी सहज बनाउँन पानीको सहायताले चल्ने परम्परागत ‘पानी घट्ट’ पछिल्लो अवस्थामा लोप हुँदै जान थालेको हो ।
घरपझोङ -५ ठिनीमा गाउँहरुको सामुहिक एक परम्परागत पानी घट्ट संञ्चालनमा छ । उक्त पानी घट्ट गाउँलेले वार्षिक तीन हजार शुल्क लिने गरी ढुम्बा स्थानीय हिमा गुरुङलाई जिम्मा दिएका छन् । ठिनी गाउँबाट वार्षिक तीन हजार बुझाउने गरी दुई वर्षदेखि पानी घट्ट आफूले संञ्चालन गर्दै आइरहेको बताए । पानी घट्टमा एक मुरी अन्न पिसेको एक पाथि ज्याला लिने गरेको संञ्चालक गुरुङ बताउँछन् । ‘धेरै जसोले छिटो छरितोका लागि विद्युतीय मेसिनमा पिस्ने गर्छन्, घट्ट घण्टौं लाग्ने काम मेसिनले केही समयमै पूरा गरिदिन्छ,’ सञ्चालक गुरुङ भन्छन्, ‘पानी घट्टको महत्व र यसबाट हुने फाइदा बुझेकाहरु पिठो पिस्न यहाँ आउनुहुन्छ ।’
यहाँ आफूले चलाएको पानी घट्टमा सेवा लिन ठिनी गाउँ र जोमसोम आसपासका सेवाग्राहीहरु आउने गरेको गुरुङले जनाए । पानी घट्टमा फापर, फापरको पात (ढाप्रा),उवा,फापर,जौ,गहु र मकै पिस्न आउने गरेको बताए । यहाँका पानी घट्ट सिचाईका लागि प्रयोग गरिने कुलोको पानीबाट संञ्चालन गर्ने गरिएको उनको भनाई छ ।
खेतीपातीमा सिंचाई गर्दा घट्टको काम रोकिन्छ, अन्नबाली थन्क्याएपछिको खाली समयमा पानी घट्ट चलाउने गरेको उनले उल्लेख गरे । पछिल्लो समय प्रविधिको विकाससँगै जलवायु परिवर्तनका कारण पानीका हिमनदीहरु सुक्दै जान थालेपछि पानी घट्ट संस्कृति जोगाउन मुश्किल पर्ने देखिएको जनाए ।
ठिनी पानी घट्टमा फापर पिस्ने सेवा लिन गएकी घरपझोङ -४ जोमसोमकी स्थानीय प्रमिता थकालीले परम्परागत पानी घट्टको महत्व र फाइदा मानिसले बुझ्न नसकेकोप्रति चिन्ता व्यक्त गरिन् । यहाँको पानी घट्टमा पिसेको अन्नबालीको परिकार स्वादिलो,स्वास्थ्यवद्धक र दीगो हुने भएकाले आफू सधैं पानी घट्टमा धाउने गरेको बताइन् ।
पछिल्लो समय विद्युती मेसिन गाउँघरमा पर्याप्त मात्रामा संञ्चालनमा रहेको भएपनि घट्टमा पिसेको अन्नबालीको परिकार नतात्तिने, गन्ध नआउने, छिटो नबिग्रिने र धेरै समयसम्म राख्न टिकाउ हुने भएकाले पानी घट्ट संस्कृति बिर्सन नहुने स्थानीय थकालीले उल्लेख गरिन् ।
मानिसहरु छोटो समय धेरै समय बचत गर्न चाहने सोचले गर्दा समय किफायत गर्न पानी घट्टमा जाने प्रचलन हराउँदै जान थालेको उनको भनाई छ । जोमसोममा रहेको दुई पानी घट्टमध्ये एक पुरै बन्द भएको र अर्को पानी घट्ट चलाउन सिंचाई कुलोको पानी नहुँदा समस्या पर्ने गरेको स्थानीय थकालीले बताइन् ।
यसैगरी घरपझोङ—५ ठिनी गाउँकी स्थानीय हाल पोखरा बस्दै आएकी सीमा थकालीले पोखरामा लैजान फापर र उवाको सातु पिस्न घट्ट आएको बताइन् । मेसिनमा पिसेको भन्दा पानी घट्टमा पिसेको पिठो स्वस्थ्यकरण र लामोसमय सम्म प्रयोगमा ल्याउन मिल्ने भएकाले पानी घट्टको संरक्षण गर्न आवश्यक रहेको औंल्याइन् ।
पानीको सहायताले घट्टको जातोलाई घुमाएर चल्ने एक प्रकारको परम्परागत प्रविधि पानी घट्ट मुस्ताङका केही गाउँमा मात्रै रहेको छ । यहाँ सदिंयौदेखि घरेलु प्रविधिको रुपमा अपनाइएको परम्परागत पानी घट्ट संरक्षण,सम्वद्धन तथा प्रर्वद्धन गर्न सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने देखिएको छ ।































प्रतिक्रिया