नेपालको अन्तर्राष्ट्रिय व्यापार : ९० प्रतिशतले निर्यात बढे पनि व्यापार घाटा उस्तै

नेपालको अन्तर्राष्ट्रिय व्यापार : ९० प्रतिशतले निर्यात बढे पनि व्यापार घाटा उस्तै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासमा नेपालबाट निर्यात उल्लेख्य मात्रामा वृद्धि भएको देखिएको छ ।

निर्यात उल्लेख्य मात्रामा वृद्धि भएपनि कुल वैदेशिक व्यापार भने झनै घाटामा गएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ।

साउनदेखि असोज मसान्तसम्मको अवधिमा निर्यात ८९.६४ प्रतिशतले बढ्दै ७२ अर्ब ७८ करोड रुपियाँ पुगेको छ । तर, सोही अवधिमा आयात १९.७९ प्रतिशतले बढ्दै ४ खर्ब ६८ अर्ब रुपियाँ नाघेपछि समग्रमा व्यापार घाटा १२.१८ प्रतिशतले वृद्धि भएको हो । आयात वृद्धि निर्यातभन्दा गुणात्मक रूपले धेरै भएकाले व्यापार असन्तुलन अझ गहिरिँदै गएको देखिन्छ।

गत वर्षको सोही अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड रुपियाँको आयात र ३८ अर्ब ३७ करोड रुपियाँको निर्यात भएको थियो । त्यसको तुलनामा चालु वर्षको ३ महिनामा व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोडबाट बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपियाँ पुगेको हो । कुल व्यापार २६.०४ प्रतिशतले विस्तार भए पनि यसले समग्र व्यापार आकार बढेको मात्र देखाएको छ, व्यापार सन्तुलनमा भने सकारात्मक परिवर्तन आएको छैन ।

निर्यात वृद्धि असामान्य दरमा देखिनुको प्रमुख कारण भटमास (सोयाबिन) तेल निर्यात हो । पहिलो त्रैयमासमा मात्र कुल निर्यातको ४२.१७ प्रतिशत हिस्सा एक्लै सो वस्तुले ओगटेको भन्सार विभागको तथ्यांक छ ।

कुल निर्यात ७२ अर्ब ७८ करोडमध्ये ३० अर्ब ६९ करोड रुपियाँ बराबरको भटमास तेल विदेशिएका कारण नेपालको निर्यात अंश उच्च देखिए पनि बढ्दो वैदेशिक निर्भरता दीर्घकालीन रूपमा असुरक्षित मानिन्छ । गत वर्ष सोयाबिन तेलको हिस्सा जम्मा २.४६ प्रतिशत मात्र भएकाले वर्तमान संरचना टिकाउभन्दा कृत्रिम निर्यात वृद्धि भएको विश्लेषण छ ।

नेपालको व्यापार असन्तुलनमा परम्परागत रूपमा भारत र चीन नै मुख्य कारक बनेका छन् । पहिलो त्रैमासमा नेपालले भारतसँग मात्रै १ खर्ब ९९ अर्बभन्दा बढी घाटा बेहोरेको छ, जबकि चीनसँगको घाटा १ खर्ब ४ अर्ब रुपियाँ नाघेको छ ।

यसको विपरित डेनमार्क, जर्मनी, रोमानिया र स्वीडेनसँग भने नेपाल सकारात्मक सन्तुलनमा देखिएको भए पनि ती देशहरूसँगको व्यापार परिमाण अत्यन्त सीमित छ, जसले समग्र सन्तुलनमा खासै भूमिका खेल्न सकेको छैन ।

आयाततर्फ पेट्रोलियम पदार्थ नै ठूलो ‘बोझ’ बन्ने क्रम यथावत नै छ । पेट्रोल, डिजेल र एलपी ग्यास आयातमा मात्र ठूलो रकम बाहिरिएको छ भने स्मार्टफोनजस्ता उपभोग्य वस्तुहरू पनि आयात सूचीमा माथिल्लो स्थानमै रहेका छन् ।

विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म नेपालले पेट्रोल, डिजेल र एलपी ग्यास गरी ६७ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ, जसले आयात सूचीमा पेट्रोलियम पदार्थलाई अग्रस्थानमा उभ्याएको छ ।

भन्सार तथ्यांकअनुसार तीन महिनामा १६ अर्ब ७८ करोड ८७ लाख बराबरको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख बराबरको एलपी ग्यास आयात भएको छ । ऊर्जा उपभोगमा परनिर्भरता बढ्दै गएको र नेपालले वैकल्पिक ऊर्जा प्रवद्र्धनमा अझै ठोस परिणाम निकाल्न नसक्दा पेट्रोलियम पदार्थको भार आयात बजेटमा वर्षेनी बढिरहेको अर्थतन्त्रविद्हरूको मूल्यांकन छ ।

पेट्रोलियमपछि वनस्पति तेल दोस्रो ठूलो आयात हुने वस्तु बनेको छ । यस क्रममा कुल ४० अर्ब रुपियाँभन्दा बढीको वनस्पति तेल आयात हुँदा, ३४ अर्ब रुपियाँबराबरका विद्युतीय सामग्री तथा पार्टस आयात भएका छन् । फलाम तथा स्टिलजन्य सामग्रीको आयात पनि तीन महिनामा करिब ३४ अर्ब रुपियाँ पुगेको छ, जसले निर्माण तथा पूर्वाधार क्षेत्रको आयात निर्भरता उस्तै उच्च रहेको देखाएको छ ।

यस अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपियाँ बराबरको स्मार्टफोन आयात भएको तथ्यांकले उपभोग–केन्द्रित आयात प्रवृत्ति यथावत रहेको संकेत गरेको छ । आयातको प्रकृति उपभोगमुखी र निर्यातको संरचना एकमुखी रहेसम्म व्यापार घाटा घट्ने सम्भावना न्यून रहन्छ ।

जेन–जी आन्दोलनपछि केही समय बजार माग घट्न सक्ने अनुमान गरिएको थियो । तर असोजमा मात्रै १ खर्ब ८८ अर्बभन्दा बढीको वैदेशिक व्यापार भएको तथ्यांकले उपभोग बजार अपेक्षित रूपमा बढेको संकेत गरेको धारणा छ ।

चाडपर्व सिजनले आयातलाई थप तानेको छ । समग्रमा, त्रैयमासिक तथ्यांकले नेपालमा आयात–निर्यात दुवै बढ्दो गतिमा रहे पनि निर्यातको दिगोपन र संरचना नबदलिए व्यापार घाटा दीर्घकालीन चुनौतीकै रूपमा रहने प्रष्ट संकेत देखिएको छ।

Logo