काठमाडौं
काभ्रेको धुलिखेल हुँदै सिन्धुली र जनकपुर सम्म पुग्न सकिने पूर्वी नेपालको छोटो गन्तव्य सडक बिपी राजमार्ग निर्माणका हिसाबले निकै नै आर्कषक देखिन्छ । तर जति आर्कषक छ त्यति नै जोखिम पनि छ । कारण हो साँघुरो सडक । यहि कारण पनि यहाँ ठूला भारबाहन सवारी साधन चल्न सक्ने अवस्था न्युन छ । पछिल्ला दिनहरुमा यहाँ ठूला दुर्घटनाहरु वढ्दै जान थालेपछि टाइमकार्ड प्रणाली लागू गरिएको छ । तर टाइमकार्ड पनि त्यति प्रभावकारी भएको पाइदैंन । त्यसैले केहि दिन पहिले यहाँ चल्ने सवारी साधनमा मापदण्ड राखिएको छ । यातायात व्यवस्था मन्त्रालयबाट गत जेठ १३ गते १८ फिट भन्दा माथिका ठूला गाडी र १० टन सम्मका ट्रिपरलाई सडकमा गुड्न इजाजत दिने गरी निर्णय भएको थियो ।
तर सरकारले अहिले यो मापदण्ड विपरित ठूला गाडी सञ्चालनका लागि अनुमति दिएपछि कानुनी प्रश्न उठाउँदै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । उक्त निर्णयले सडक दुर्घटना बढ्ने, वातावरणीय असर र सडकको भौतिक क्षति समेत बढ्ने दाबी सहित अधिवक्ता कैलाशराज दाहाल सर्वोच्च पुगेका हुन् । यसअघि पनि सोही प्रकृतिको निर्णय रोक्न दायर भएको रिट सर्वोच्चमा विचाराधिन रहेकै अवस्थामा पुनः मन्त्रीस्तरीय निर्णयले सवारी धनीको निजी लाभमा काम भएको भन्ने आरोप दाहालको छ ।
उनले सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन आफ्नो रिटमा माग गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाउँदै कार्यक्षेत्र भन्दा बाहिर गएर बिपी राजमार्गको खुर्कोट–सिन्धुलीमाढी सडक खण्डमा ३२ सिट क्षमताका ठूला गाडीलाई रुट इजाजत दिएका थिए । मन्त्री महासेठले यातायात व्यवसायीको दबाबमा परेर रुट इजाजत दिनकै लागि विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानेको रहस्य पनि यो प्रकरणसँगै खुलेको थियो ।
अघि यातायात व्यवसायीले मन्त्रीसँग पनि १६० किलोमिटर लामो यो सडकमा रुट इजाजतका लागि लबिङ गर्दै आएका थिए । तर महासेठ भन्दा यस अघिका मन्त्री रमेश लेखक, वीरबहादुर बलायरले भने सडकको अवस्थामा भन्दा बाहिर गएर रुट इजाजत नदिने भन्दै व्यवसायीको माग पुरा गरेका थिएनन् । तर वर्तमान मन्त्री महासेठले भने विभिन्न सुझाव समितीहरुले दिएको अध्ययन प्रतिवेदन समेत लत्याउँदै ३२ सिट क्षमताका गाडीलाई रुट इजाजत दिने निर्णय गरेका हुन् । प्राविधिक टिमले दिएको प्रतिवेदनमा भिरालो भू–धरातल र सडकको चौडाई चार मिटर मात्रै भएका कारणले दुई मिटर चौडा भन्दा ठूला सवारी र १० टन भन्दा माथिका मालबाहक सवारी चल्न नमिल्ने प्रतिवेदन दिएको थियो ।
प्रतिवदेनमा यो सडकखण्डको अधिकांश भाग ४ मिटर चौडा तथा धेरै मोड भएकाले सडक सुरक्षा र सवारी दुर्घटनाबाट जोगिन ठूला बस र धेरै लोड भएका ट्रकलाई अनुमति दिन नहुने उल्लेख गरिएको छ । चौडा सानो भएपनि काठमाडौंलाई तराईसँग जोड्ने छोटो दूरीको बिपी राजमार्ग धेरै घुम्ती र मोडसँगै उत्तिकै रमणीय पनि छ । विपी मार्गलाई जापान सरकारको सहयोगमा निर्माण गरिएको थियो । यस सडकले पूर्वी नेपालसँग राजधानी जोड्न निकै सहजता बनाएका कारण पछिल्ला केहि वर्ष यता यहाँ सवारी चाप वढ्न थालेको छ । वढ्दो सवारी दुर्घटनालाई रोक्न भने अहिले यहाँ निकै चुनौती थपिएको छ ।





























प्रतिक्रिया