६५० किलोमिटर रेन्ज भएको जीएसी आयोन आइ६० सार्वजनिक, यस्ता छन् फिचर

६५० किलोमिटर रेन्ज भएको जीएसी आयोन आइ६० सार्वजनिक, यस्ता छन् फिचर

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । जीएसी आयोनले चीनमा नयाँ आयोन आइ६० सार्वजनिक गर्दै आफ्नो ग्लोबल लाइनअपलाई थप विस्तार गरेको छ । यो मोडेलले नेपाल जस्ता हाल आयोन भी र आयोन भी इलेक्ट्रिक एसयुभी उपलब्ध भएका बजारहरुमा ब्रान्डको उपस्थितिलाई अझै बलियो बनाउन सक्ने कम्पनीले जनाएको हो।

आयोन आइ६० लाई पाँच सिट भएको कम्प्याक्ट एसयुभीको रुपमा प्रस्तुत गरिएको छ। र, यो प्योर-इलेक्ट्रिक तथा रेन्ज एक्सटेन्डेड (इआरइभी) दुवै भर्सनमा उपलब्ध छ। यो मोडेलले लामो रेन्ज र दक्षतालाई प्राथमिकता दिने ग्राहकहरूलाई लक्षित गर्ने कम्पनीले जनाएको छ।

प्योर इलेक्ट्रिक भर्सनले ७५ किलोवाट आवर ब्याट्री प्रयोग गर्छ जसले अधिकतम ६५० किलोमिटर सीएलटीसी रेन्ज प्रदान गर्छ। साथै, ३० प्रतिशत बाट ८० प्रतिशतसम्म फास्ट चार्ज गर्न करिब १५ मिनेट लाग्छ।

लामो दूरीको यात्रा गर्ने चालकहरूका लागि इआरइभी भर्सनमा १.५ लिटर इन्जिन (७४ किलोवाट आवर) र १८० किलोवाट इलेक्ट्रिक मोटरको संयोजन छ जसले २१० किलोमिटर्को प्योर इभी रेन्ज र १ हजार २४० किलोमिटरको संयुक्त कूल रेन्ज दिन्छ।

डिजाइनतर्फ हेर्दा आयोन आइ६० मा स्लिम एलइडी हेडलाइट, सफा फ्रन्ट फेसिया र ऐओन वर्डमार्कसहित आकर्षक लूक दिइएको छ। ४ हजार ६८५ मिलिमिटर लम्बाई, १ हजार ८५४ मिलिमिटर चौडाई र १ हजार ६६० मिलिमिटर उचाई रहेकाले यसको मजबुत देखिने कम्पनीले जनाएको छ। सेमी-हिडन डोर ह्यान्डल तथा १८ वा १९ इन्चका ह्विल विकल्पले आधुनिकता थप्ने पनि भनिएको छ।

पछाडितर्फ फुल-विथ एलइडी लाइट बार र इल्युमिनेटेड लोगो गाडीको मुख्य आकर्षण भएको र वाइड-ओपनिङ ढोका र इलेक्ट्रिक टेलगेटले दैनिक प्रयोगमा सहजता ल्याउने कम्पनीको दाबी छ। भित्री क्याबिनमा आयोनको परिचित इन्टेरिअर डिजाइन अझ सफा र आधुनिक रूपमा प्रस्तुत गरिएको छ।

यस मोडेलमा जीएसी को जीएसडी इन्टेलिजेन्ट ड्राइभिङ सुइट पनि छ। यसले हाई स्पिड नेभिगेसन ड्राइभिङ एसिस्ट, स्वचालित पार्किङ र लेन चेन्ज सपोर्ट जस्ता प्रिमियम स्तरका फीचरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ।

आयोन भी र आयोन वाइ मार्फत नेपालमा जीएसी आयोनको उपस्थिति विस्तार हुँदै गएको कम्पनीले उल्लेख गरेको छ। यो ब्रान्डले नेपालमा आफ्नो लाइनअप थप विस्तार गर्ने निर्णय गरे आयोन आइ६० ले मध्यम आकारको इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा आफ्नो स्थान बनाउन सक्ने विश्वास लिएको छ।

Logo