काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको लोकप्रियता तीव्र रूपमा बढेको बेला टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ईभी ग्राहकलाई लक्षित गर्दै विशेष ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ ।
जाडो मौसममा ईभीको प्रदर्शनमा देखिन सक्ने कमजोरी, ब्याट्री क्षमतामा आउने उतारचढाव, र समग्र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले मंसिर २१ देखि २४ गतेसम्म देशभरका आधिकारिक सर्भिस केन्द्रमार्फत आकर्षक र उपयोगी सेवा उपलब्ध गराइरहेको छ ।
कम्पनीको अनुसार, जाडो मौसममा विद्युतीय सवारीको दक्षता घट्ने, ब्याट्री चिसिनाले चार्जिङ समय बढ्ने, र विभिन्न इलेक्ट्रिकल कम्पोनेन्टमा प्रभाव पर्ने जस्ता चुनौतीलाई समाधान गर्न सर्भिस क्याम्प सञ्चालन गरिएको हो। यस क्याम्पमार्फत ग्राहकले आफ्नो टाटा ईभीलाई हरेक दृष्टिले सुरक्षित र पूर्ण कार्यक्षमता बनाउन सहयोग पाउनेछन्।
सर्भिस क्याम्पमा सहभागी हुने ग्राहकले निःशुल्क लेबर चार्ज, निःशुल्क टप वासिङ, कम्प्युटर डायग्नोसिस, ब्याट्री र इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन तथा ब्रेक जाँच लगायत एक विस्तृत १०–प्वाइन्ट चेकअप सेवा निःशुल्क पाउनेछन्। टेक्निकल परीक्षण र भौतिक निरीक्षण दुवै समेटिएको यस सेवाले ईभीको दीर्घकालीन प्रदर्शन सुचारु राख्न महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ।

यसबाहेक, ग्राहकले जाडो मौसममा बढी आवश्यक पर्ने स्पेयर पार्टस् र लुब्रिकेन्ट्समा १८ प्रतिशतसम्म छुट पाउनेछन्। कम्पनीका सर्भिस हेड कुमार भण्डारीका अनुसार, यो छुटसहितको सर्भिस प्याकेजले टाटा ईभी प्रयोगकर्ताका लागि सर्भिसिङलाई झनै किफायती र सहज बनाउनेछ ।
यसपटकको क्याम्पको अर्को प्रमुख आकर्षण भनेको ईभी एक्सचेन्ज सुविधा हो। विद्यमान टाटा ईभी प्रयोगकर्ताले पुरानो सवारी सस्तो मूल्यमा एक्सचेन्ज गरी नयाँ मोडेल खरिद गर्न सक्नेछन्। त्यस्तै, अन्य ब्रान्डको विद्युतीय सवारी राख्ने ग्राहकले पनि टाटा ईभीमा अपग्रेड गर्ने अवसर पाउने व्यवस्थासमेत गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी सिप्रदी ट्रेडिङका जनरल म्यानेजर सावन्तजंग सिजापतिले कार्यक्रमप्रति उत्साह व्यक्त गर्दै भने, “हामी ग्राहक सेवामा निरन्तर सुधार ल्याउने उद्देश्यसहित यस्तो क्याम्प आयोजना गर्छौं । एक्सचेन्ज योजनाले विद्युतीय सवारीप्रतिको आकर्षण थप बढाउनेछ र ग्राहकलाई उपयुक्त अपग्रेड विकल्प उपलब्ध गराउनेछ ।”
उनका अनुसार, यस अभियानमार्फत कम्पनीले ग्राहकको विद्युतीय सवारीबारेका जिज्ञासा समाधान गर्ने, सर्भिस अनुभवलाई सहज बनाउने, र ईभी प्रविधिप्रतिको विश्वास अझ प्रबल बनाउने लक्ष्य राखेको छ ।
यो विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्पले देशभरका टाटा ईभी प्रयोगकर्तालाई लाभान्वित गर्दै जाडो मौसममा सुरक्षित, भरपर्दो र आर्थिक रूपमा प्रभावकारी ईभी उपयोग गर्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
नेपालमा विद्युतीय गतिशीलता विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको सिप्रदीले निकट भविष्यमा पनि ग्राहक केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।





























प्रतिक्रिया