म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।
अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यले तिब्रता पाएको छ । वि.स. २०८३ फागुन भित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्य अनुसार विद्युतगृह र बाँध निर्माण कार्यलाई पनि तिब्रता दिएको आयोजनाले जनाएको छ । कुल पाँच हजार सात सय ८९ दशमलब ७१ मिटर लामो सुरुङ मध्य हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ ।
धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधिन छ । वाइट ज्योतीकुमार केसी, आयोजना प्रमुख, माथिल्लो म्याग्दी–१ जलविद्युत आयोजना
मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनौट भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई एक सय ९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।
उर्जा इन्जिनियरीङ् एण्ड म्यानेजमेन्ट सोलुुसन प्रा.ली. परामर्शदाता रहेको यस आयोजनाको प्रर्वद्धक कम्पनी उर्जा डेभलपर्स प्रा.ली.मा आवद्ध छ । विद्युतगृहतदेखि मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधिन एक सय ३२ केभी क्षमताको सवस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलब पाँच किलोमिटर प्रशारण लाइनको अध्ययन भइरहेको छ ।
सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने रु. ११ अर्ब २३ करोड २७ लाख छ हजारको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।
यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रिय लाइनमा जोडिनेछ । भारवाङ देखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।





























प्रतिक्रिया