काठमाडौँ । नेकपा एमाले को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रसँगै नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै पार्टीभित्र राजनीतिक चहलपहल बढेको छ । एमालेले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय अध्यक्ष पदका उम्मेदवारले १५ हजार रुपैयाँ शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, केन्द्रीय पदाधिकारी पदका लागि १० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । पार्टीका विभिन्न केन्द्रीय आयोगहरूका हकमा पनि शुल्क निर्धारण गरिएको छ, जहाँ आयोग अध्यक्ष पदका लागि १० हजार रुपैयाँ तथा आयोगका पदाधिकारी तथा सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।
आज बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूले दरखास्त फाराम दर्ता गर्न पाउने व्यवस्था गरिएको छ। दर्ता प्रक्रिया सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ । त्यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय दिइएको छ। सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन तालिकाअनुसार भोलि मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ। महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा भव्य रूपमा सम्पन्न भएको थियो भने आइतबारदेखि बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।
नेतृत्व चयनको यो प्रक्रियालाई पार्टीको भावी दिशा र संगठनात्मक मजबुतीसँग जोडेर हेरिएको छ। त्यसैले पनि भृकुटीमण्डपमा आज दिनभर एमाले नेताहरूको बाक्लो उपस्थिति र उत्साहपूर्ण माहोल देखिएको छ ।































प्रतिक्रिया