काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि थोपरिएको आर्थिक बोझ अन्ततः हटेको छ। चर्को आलोचना र दबाबपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गर्दै पुरानै दर कायम गर्ने निर्णय गरेका छन्।
यसअघि सरकारले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट सिधै ९ हजार ५०० रुपैयाँ पु¥याएर श्रमिकलाई थप मारमा पारेको आरोप लाग्दै आएको थियो। नयाँ मन्त्रीस्तरीय निर्णयसँगै उक्त शुल्क पुनः ६ हजार ५०० रुपैयाँमै सीमित गरिएको छ, जसलाई श्रमिकका लागि राहतको निर्णयका रूपमा हेरिएको छ ।
शुल्क वृद्धिले विदेश जाने तयारीमा रहेका गरिब तथा विपन्न कामदारहरू थप ऋण र दबाबमा पर्ने भन्दै श्रमिक संगठन, वैदेशिक रोजगार व्यवसायी र सर्वसाधारणले सरकारको कडा आलोचना गर्दै आएका थिए । आलोचनाले चुलिएको दबाबपछि सरकार पछाडि हट्न बाध्य भएको देखिएको छ ।
यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५०० रुपैयाँ कायम गरेका थिए। त्यतिबेला पनि विरोध चर्किएपछि कार्यान्वयन प्रक्रिया रोकिएको थियो। विवादास्पद रूपमा पुनः बढाइएको शुल्कलाई वर्तमान मन्त्रीले खारेज गरेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले ठूलो राहत पाएका छन्।





























प्रतिक्रिया