राँझा। बाँकेका थारू बस्तीमा थारू समुदायको प्रमुख पर्व माघीको चहलपहल सुरु भएको छ । नयाँ वर्षका रूपमा मनाइने माघी पर्व नजिकिँदै जाँदा थारू गाउँहरूमा विशेष रौनक देखिन थालेको छ । माघीलाई थारू समुदायले नयाँ सुरुवात, नयाँ व्यवस्था र सामूहिक निर्णयको पर्वका रूपमा लिने गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका–३ बैजापुरका थारू अगुवा तुलसीराम थारूका अनुसार माघीका अवसरमा गाउँगाउँमा परम्परागत माघीनाच, छोक्रा, हुर्दुग्वा र लठहवा नाच सुरु भएका छन् । नाचगानसँगै घरघरमा पुगेर दक्षिणा उठाउने चलनले गाउँमा उत्सवको माहोल बनेको छ । थारू गाउँमा अहिले माघीको तयारी र उत्साह चरम अवस्थामा पुगेको उनले बताए ।
थारू समुदायमा माघीलाई वर्षकै सबैभन्दा महत्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ । माघीबाटै नयाँ कामको सुरुवात हुने, नयाँ नीति व्यवस्था लागू हुने भएकाले यसलाई विशेष महत्व दिइने बाँके बैजनाथका थारू अगुवा चन्द्रबहादुर चौधरीले जानकारी दिऐ । उनका अनुसार माघी पर्वका क्रममा नयाँ अगुवा छनोट, गाउँ सञ्चालनका नियम बनाउने र सामाजिक जिम्मेवारी बाँडफाँट गर्ने चलन छ, जसले थारू समाजको एकता र सामूहिक निर्णय प्रक्रियालाई बलियो बनाएको छ ।
माघी पर्व थारू समुदायको चाड मात्र नभई सामाजिक, सांस्कृतिक र प्रशासनिक पर्वसमेत हो । यस अवसरमा मतहवा, भल्मन्सा, बरघरजस्ता अगुवाहरू चयन गरिने तथा गाउँ सञ्चालनका नीतिनियम तय गरिने परम्परा छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बसोबास रहेकाले यी जिल्लाहरूमा माघी विशेष उत्साहका साथ मनाइने गरिन्छ ।
राप्ती सोनारी–३ का वडाध्यक्ष मीनकुमार थारूका अनुसार थारू समुदायले माघीलाई नयाँ आर्थिक वर्षका रूपमा पनि लिने गरेका छन् । माघीको अवसरमा वर्षभरि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन र सामाजिक व्यवहारबारे छलफल हुने गर्दछ । पुसको अन्तिम दिनदेखि नै थारू गाउँमा दाउरा सङ्कलन, घर रङरोगन, पिसान कुटान, जाँड बनाउने, ढिक्री पकाउनेलगायत तयारी पूरा गरिन्छ ।
माघ १ गतेको अघिल्लो दिन थारू समुदायमा रातभर आगोको धुनी बालेर ताप्ने चलन छ । गाउँका सबै मानिस एक ठाउँमा भेला भएर आगो ताप्दै रमाइलो गर्ने, भाले बासेसँगै नदी वा खोलामा स्नान गर्ने परम्परा छ । स्नानपछि ठूलाबाट आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन रहिआएको छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छनोट र नीतिनियम बनाउने गरिन्छ भने त्यसपछि केही दिनसम्म नाचगानसहित माघी पर्व मनाइन्छ ।
माघी पर्वसँगै थारू संस्कृति संरक्षण र मनोरञ्जनका लागि मगौटा नाचगान पनि सुरु भएको राप्ती सोनारी–२ कचनापुरका रामदास थारूले जानकारी दिए । यसले नयाँ पुस्तामा संस्कृतिप्रति चासो बढाउन सहयोग पुगेको उनको भनाइ छ ।
यसैबीच, बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित भुवरभवानी मन्दिरमा माघी मेलाको तयारी तीव्र बनाइएको छ । पुस ३० गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने भुवरभवानी माघी मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनका व्यापारिक कक्षहरू राखिने तयारी गरिएको छ । विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिर बाँके जिल्लाकै महत्वपूर्ण धार्मिक धरोहरका रूपमा चिनिन्छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत श्रद्धालु तथा दर्शक आउने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया