लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित राष्ट्रिय लिग फुटबलमा मोफसलबाट प्रतिनिधित्व गर्न लागेको लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सले साथ दिएको छ ।

एन्फाको आयोजनामा यही पुस ३० गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा कूल १७ क्लब सहभागि छन् । जसमा कास्की जिल्लाको लालिगुराँस एसोसिएसनसँगै मोफसलका तीन क्लब छन् ।

लालिगुराँससँगै चार क्लब एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चारमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएको हो । लालिगुराँसले प्रेसिडेन्ट कपको च्याम्पियनको हैसियतमा राष्ट्रिय लिग खेल्दैछ । पहिलो पटक राष्ट्रिय लिगका सहभागि हुन लागेको लालिगुराँस उत्साहित छ ।

पोखरा एभेन्जर्स र लालिगुराँस दुवै एकै क्षेत्रको क्लब भएकोले फरक खेल भएपनि सहकार्य गरेको हो ।

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली हो । पोखराले एनपीएलको पहिलो र दोस्रो दुवै संस्करणमा बलियो उपस्थिती जनाएको थियो ।
एनपीएल क्रिकेटमा समग्र गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्दै ग्रासरुट देखि नै क्रिकेटको विकासमा लागेको पोखरा एभेन्जर्सले फुटबल खेलको अर्को क्लब लालिगुराँस एसोसिएसनलाई पनि सहयोग गर्न लागेको हो ।

फरक खेल भएतापनि एकै क्षेत्रको क्लब भएकोले एकले अर्कोलाई सहयोग गर्नुपर्ने र सँग सँगै अगाडि बढ्नुपर्ने लक्ष्यका साथ सहकार्य गरेको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए । ‘हामी दुवै क्लब गण्डकी प्रदेश भित्रका हौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग मार्फत नेपालको क्रिकेट विकासमा योगदान दिइरहेको छ । लालिगुराँस एसोसिएसन पनि यही क्षेत्रको भएकोले हामीले सहयोग गरेका हौँ’ उनले भने, ‘हामीले क्रस स्पोर्ट्स कल्सर विकास गर्ने लक्ष्य अनुसार यो कदम चालिएको हो ।’

सहकार्य अनुसार लालिगुराँस एसोसिएसनले जर्सीको पछाडी भागमा जर्सी नम्बर मुनी पोखरा एभेन्जर्स लेखेर जर्सी लगाउने छ । पोखरा एभेन्जर्सले विशेषगरी विदेशी खेलाडीहरु भित्र्याउन र बलियो टिम निर्माण गर्न सहयोग गर्ने अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

यस्तै, लालिगुराँसलाई अहिले सुरुवाती सहयोग गरेको र आगामी दिनमा योजनाबद्ध तरिकाले अघि बढ्ने अध्यक्ष त्रिपाठीले जानकारी दिए । ‘दुई खेलबीचको सहकार्यको सुरुवात भएको छ र यसलाई दिर्घकालिन रणनैतिक रुपमा लालिगुराँसलाई सहयोग गर्दै अब फुटबलमा विकासमा पनि पोखरा एभेन्जर्सले आगामी दिनमा केही नयाँ गर्ने सोच बनाइरहेको छ ।’

लालिगुराँस एसोसिएसनका अध्यक्ष डम्बर गुरुङले पोखरा एभेन्जर्सको सहयोगले क्लबलाई धेरै मोटिभेट गरेको बताए । उनले मोफसलका क्लबहरुका लागि ३ महिना राजधानीमा गएर खेल्न कठिन हुने अवस्थामा यो साथले केही राहत हुने बताए ।
‘पहिलो पटक राष्ट्रिय लिग खेल्न पोखराबाट आएका हौँ । यसमा पोखराको टिम भयो सुबोध दाई पनि पोखराकै हुनुभएकोले सहयोग गर्नुभाछ । यसले टिमलाई एकदम मोटिभेट भाछ । सबै खेलाडीहरु हर्षित पनि भाछन् । क्लब पनि खुशी छन्,’ गुरुङले भने, ‘सबै जना मोटिभेट छन् । दाईजस्तो खेललाई माया गर्ने व्यक्ति पाछौँ ।उहाँहरुले खेललाई माया गर्नुभाछ । भविष्यमा पनि जोडिन सक्छौँ भन्नुभाछ ।’
लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा आफ्नो पहिलो खेल माघ १ गते ललितपुरको ए डिभिजन क्लब जावलाखेल युथ क्लब विरुद्ध खेल्दैछ । राष्ट्रिय लिग मार्फत लालिगुराँसले पनि राजधानीमा आएर शीर्ष श्रेणीको क्लबहरुसँग खेल्दै आफ्नो दरिलो उपस्थिती जनाउँदैछ ।

लालिगुराँसले पनि राष्ट्रिय लिग फुटबलमा स्थानिय खेलाडीहरुलाई नै बढी प्राथमिकता दिएको छ ।

यसअघि लिग खेलेको अनुभव भएका भिषण गुरुङ सँगै उमेर समूहमा राम थापा र लक्षु थापा मगरलाई टिममा समावेश गरेको लालिगुराँसले स्थानिय युवा खेलाडीहरुलाई नै अवसर दिन लागेको छ ।

यस्तै लालिगुराँसले राष्ट्रिय लिगका लागि तान्जानिया, टोगो र उज्वेकिस्तानका खेलाडीहरु अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । लालिगुराँस टिमले पोखरामा रहेर तीन साता तयारी गरेर काठमाडौं आइसकेको छ । टिममा सिनियर र जुनियर खेलाडीहरुको मिश्रण रहेकोले राम्रो प्रदर्शनको अपेक्षा छ ।

लालिगुराँसको मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ छन् । श्रेष्ठले राष्ट्रिय टिममा योहान कालिनको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् भने ए डिभिजन लिगका विभिन्न क्लबहरुमा पनि प्रशिक्षण सम्हालिसकेको अनुभव छ । अनुभवी प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा लालिगुरासँसले राष्ट्रिय लिगमा पनि राम्रो प्रदर्शन गर्दै मोफसलको क्लबको प्रतिष्ठा कायम राख्ने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo