काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताएका छन् । संघीय संसद अन्र्तगतको संसदीय सुनुवाई समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफू निर्णायक भूमिकामा रहँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशन अनुसार काम गर्ने बताएका हुन् । एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुराहरुलाई सच्याउने र फरक बुझाईका विषयमा स्पष्ट पार्न सहजिकरण गर्ने उनले बताए ।
सुनुवाईका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै डा. खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरुमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताए । अमेरिकाले एमसीसी परियोजना लागु गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारि सकेकाले नेपालमा उठेका विषयहरु त्यहाँका अधिकारीहरु समक्ष पु¥याएर सहजिकरण गर्न सकिने उनको भनाइ छ ।
अहिले नेपालमा युएसएआडीले पनि ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै डा. खतिवडाले त्यो सहयोगलाई नेपालको हित, प्राथमिकता र राष्ट्रिय बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने पनि बताए । आफू विरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै डा. खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमि कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफू कमजोर नभएको दाबी गरे । २० औँ वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा काम गर्दा कारबाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारबाहीमा परेकाहरुले उजुरी गर्नु सामान्य भएको उनको भनाइ छ । उनले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न चेतावनी समेत दिए । कर प्रणाली लगायतमा केही गलत भएको भए छानबिन गर्न उनको आग्रह छ ।
त्यस्तै पूर्वअर्थमन्त्री समेत रहेका डा. खतिवडाले आफूले अमेरिकाको राजदूत हुन कहिले पनि सरकारसँग प्रस्ताव नगरेको दाबी गरेका छन् । संघीय सरकारको मन्त्री समेत भइसकेको व्यक्ति राजदूतका लागि जानु प्रोटोकलले मिल्छ भन्ने सांसदको प्रश्नमा उनले संघका मन्त्रीहरु प्रदेशमा गएर मन्त्री बनेका छन् भन्दै जवाफ दिएका थिए । उनले प्रोटोकल भावना, कानुन र मर्यादाको कुरा भएको उल्लेख गर्दै कतिपय मन्त्री भएका व्यक्तिहरु राजदूत भएको उदाहरण समेत दिए । उनले भने–‘कहाँ भूमिका आवश्यक पर्छ त्यहाँ निभाउने हो ।’
त्यस्तैगरी उनले नेपालको स्वाधिनता, सुरक्षा र राष्ट्रियहित दिगो शान्तिका लागि कुटनीतिक सम्बन्धलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न दुई पक्षीय र बहुपक्षीय सहयोग जुटाउन भूमिका खेल्ने पनि बताए । नेपालमा बाह्य लगानीको आश्यकता रहेकाले उच्च सम्भावना भएका क्षेत्रमा विदेशी लगानी ल्याउन प्रोत्साहन गर्ने, नेपाल र अमेरिका बीच भन्साररहित व्यापारको सुविधा रहेकाले त्यसको भरपुर उपयोग गर्नेतर्फ सहयोग गर्ने पनि बताए ।





























प्रतिक्रिया