विदेशमा अलपत्र परेका पाखापानीका विकको तीन महिनापछि उद्धार

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीन महिनापछि उद्धार

केन्द्रबिन्दु
45
Shares

म्याग्दी। रोजगारीका क्रममा विदेश पुगेपछि अलपत्र बनेका रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ ।

भुवनसँगै सर्बियाबाट इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनीस्थित नेपाली दूतावासको सहकार्यमा गत कात्तिक २५ गते डुङ्गा दुर्घटनामा घाइते र अलपत्र बनेका विकको उद्धार गरिएको हो । गत हप्ता जन्मथलो आइपुगेका विकले नयाँ जीवन पाएको प्रतिक्रिया दिएका छन् ।

“सर्बियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका मलगायत १३ जना नेपाली सवार डुङ्गा दुर्घटनामा प¥यो । पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरी उपचार गरे पनि राहदानीलगायत कागजात नहुँदा अलपत्र परेँ,” भुवन विकले भने, “मलाई त्यहाँ पु¥याउने सन्तोष विक, किसान विक र कमल अधिकारीले बेवास्ता गरेपछि घरमा खबर गरेँ । आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार भएर घर फर्किन पाउँदा नयाँ जीवन पाएको महसुस भएको छ ।”

चिसो पानीमा डुबेको र पानी निलेका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । हाल स्वास्थ्यमा केही सुधार आए पनि आन्द्रासम्बन्धी समस्या अझै निको नभएको जनाइएको छ । सर्बियामा काम र तलब नपाएपछि अवैध बाटो हुँदै इटली जाने क्रममा उनीहरू दुर्घटनामा परेका थिए ।

आप्रवासी स्रोत केन्द्र म्याग्दीका कर्मचारी प्रमिला पौडेलका अनुसार भुवनकी श्रीमती मीना विकले गत पुस २३ गते पेस गरेको निवेदनका आधारमा गृह तथा परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र जर्मनीस्थित नेपाली दूतावाससँग समन्वय गरी उद्धार प्रक्रिया अघि बढाइएको थियो ।

प्रतिव्यक्ति ११ लाख रुपैयाँ तिरेर भुवनसँगै सर्बिया पुगेका म्याग्दीका अन्य तीन जना भने अपेक्षित काम र तलब नपाएपछि घर फर्किएका छन् । भुवनसँगै डुङ्गा दुर्घटनामा परेका बेनी–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था अझै अज्ञात रहेकाले खोजी गरिदिन उनका आफन्तले आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन् ।

बिष्णेका भाइ दिलगोपाल सार्कीले दुर्घटनाको दिनदेखि सम्पर्कविहीन रहेका दाइको अवस्था पहिचान र उद्धारका लागि भएको प्रयासबाट हालसम्म कुनै उपलब्धि नहुँदा निराश बनेको बताए ।
“सर्बियाको प्रहरी नियन्त्रणमा रहेका वा अस्पतालमा उपचार भइरहेको हुनसक्ने अनुमान गरेका छौँ,” उनले भने, “अवस्था पत्ता नलाग्दा अलमलमा परेका छौँ ।”

Logo